११ बैशाख २०७७, बिहीबार
  • देवराज पन्त

मकवानपुर, ११ बैशाख । लकडाउन पछि अलपत्र परेका मकवानपुर जिल्लाका नागरिकलाई ल्याउन आज हेटौंडाबाट १३ वटा यात्रुवाहक बस काठमाडौं तर्फ गएको छ ।

करिब १ महिना लामो लकडाउनले गर्दा बेखर्ची भएका र काठमाडौंबाट मकवानपुर आउन चाहनेहरुलाई लिन बस त्यस तर्फ गएको हो ।

पुरानो नारायणी यातायात कम्पनीले निशुल्क बस उपलब्ध गराएपछि जिल्लाको बागमती गाउँपालिकाले इन्धन खर्च बेहोर्ने गरी १० वटा बस काठमाडौंतर्फ पठाईएको सो गाउँपालिका अध्यक्ष सर्केश घलानले बताउनु भएको छ ।

त्यसै गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ बाट पनि ३ वटा यात्रुबाहक बस काठमाडौं तर्फ पठाईएको छ । सो वडालाई पुरानो नारायणी यातायात कम्पनीले ३ सय लिटर डिजल उपलब्ध गराएको कम्पनीका महासचिव सरोजकुमार खनालले जानकारी दिनुभयो । सो ३ वटा बसको इन्धन खर्च बाहेक अन्य सबै खर्च वडा कार्यालयले गर्ने वडा अध्यक्ष अनिल बानियाँले बताउनुभयो ।

यात्रु लिन गएको बसमा करिब ४ सय जना आजै बेलुका मकवानपुर आईपुग्ने बताईएको छ । उद्दार गरी ल्याईएका सबैको स्वास्थ्य परीक्षण पछि मात्रै होम क्वारेन्टाईनमा पठाउने व्यवस्था गरिएको बताईएको छ ।

काठमाडौंबाट आज आईपुग्नेलाई २ सातासम्म गाउँघरमा हिडडुल गर्न निषेध गरिने छ भने, अनिवार्य २ सातासम्म होम क्वारेन्टाईनमा बस्नुपर्ने बताईएको छ ।

LIVE TV