११ बैशाख २०७७, बिहीबार
  • नवीन कुलुङ

एक गाउँ थियाे । गाउँमा सानो झुप्रो थियाे । झुप्राेमा आमाछोरा बस्थे । छोरा सानै हुँदा बुबाचाहिँ बितेका थिए । कामकाे सिलसिलामा भोट जाँदा उतै बितेका थिए ।

गाउँमा कोही पनि सहारा नभएपछि आमाछोराले गाउँ छाडे । भएको दुईवटा बाख्रा, एउटा गाई र केही कुखुराहरु बेचेर उनीहरु सहर पसे । सहरमा सानो कोठा लिएर बसे । गाउँमा त कोही थिएन, सहरमा झन् को होस् र उनीहरुको !

आमालाई छोरा हुर्काउनुपर्ने जिम्मा थियो । एक्लाे छाेराकी आमा भन्नु पनि बुबा भन्नु पनि उनी नै थिइन् । छोरालाई खानलाउन दिने कर्तव्य मात्रै थिएन उनीसँग, राम्रो शिक्षा दिनु पनि थियो ।

छोराप्रतिको जिम्मेवारीले आमा कामको खोजीमा निस्किइन् । धेरैतिर खाेजेपछि उनले एउटा होटेलमा भाँडा माझ्ने काम पाइन् । रहरले यो काम ठूलो त्यो काम सानो भन्छ । तर बाध्यताले भन्दैन । उनले त्यही कामलाई राम्रो ठानिन् र सुरू गरिन् ।

भाडा माझ्दै उनले छाेरालाइ पढाउन थालिन् । छोरा पनि राम्रोसँग पढ्दै गयाे । आमाको दु:खलाई बुझ्याे । छोरोले ठूलो भएपछि धेरै प्रगति गर्याे । घरगाडी सबै जोड्याे । हेर्दाहेर्दै छाेराे एउटा ठूलो कम्पनीको मालिक भयाे ।

उसले आफ्नो करियरमा धेरै सफता प्राप्त गरेपछि एकदिन ती विगतका सबै कुराहरु सम्झ्याे । विगतका कुराहरुले छोरालाई आफ्नी आमाको गुण तिर्नुपर्याे भन्ने लाग्यो । उसले एक दिन आमालाई भन्यो, ‘आमा, तपाईले मलाई दु:ख गरेर यहाँसम्म ल्याइपुर्याउनुभयो । खाइनखाई मलाई पढाउनुभयो । बुबाको कमी हुन पनि कहिल्यै दिनुभएन । म तपाईंका सारा गुणकाे ऋण तिर्न चाहन्छु ।’

छोराको कुरा सुनेर आमा अचम्ममा परिन् । आमाले भनिन्, ‘छोरा, तँलाई हुर्काउनु, पढाउनु र एउटा ठूलो मान्छे बनाउनु मेरो कर्तव्य थियो । मैले मेरो कर्तव्य मात्रै पूरा गरेकी हुँ । तैँले मलाई गुण तिर्नु पर्दैन ।’

तर छोराको मनले मानेन । छोरालाई लाग्यो- एक्ली आमाकाे गुण जसरी भए पनि तिर्नुपर्छ । छोरोले भन्यो, ‘त्यसरी कहाँ हुन्छ आमा, जसरी भए पनि तपाईको गुण त तिर्नैपर्छ । भन्नुस् तपाइँको लागि के गरुँ ? म अहिले ठूलो भइसकेँ, कमाउने भइसकेँ, तपाईको गुणको ऋण तिर्न सक्ने भइसकेँ ।’

गुणको ऋण तिर्ने कुरालाई आमाले बारम्बार इन्कार गरिन् । तर छोराले मानेन । जसरी भए पनि तिर्छु भनेर छोराले ढिपी गरिरह्याे । छोराले गुण तिर्ने भनेर धेरै जिकीर गरेपछि आमाले भनिन्, ‘ल तैँले मेरो गुणको ऋण तिर्छस् भने आजराति तँ मसँगै मेरो ओछ्यानमा सुत्, जसरी तँ सानो हुँदा मसँगै सुत्थिस् ।’

छोरा एकछिन त अचम्ममै पर्याे, आमाकाे कुराले । छोराले भन्याे, ‘यो त कुन ठूलो कुरा हो र, तपाई खुशी बन्नुहुन्छ भने म आज तपाईसँगै सुत्छु ।’

आमाको सर्तअनुसार नै बेलुका आमाकै ओछ्यानमा आमाछोरा सँगै सुते । छोरा निदाउनेबित्तिकै आमा उठिन् र एक बाल्टिन पानी ल्याइन् । छोराको दहिनेपट्टि एक मग पानी खनाइन् । ओछ्यान चिसो भएपछि छोरा देब्रेतिर सरेर सुत्यो । देब्रेपट्टि पनि आमाले एक मग पानी खनाइदिइन् । खुट्टाको छेउमा पनि पानी खनाइदिइन् ।

ओछ्यानको दुबैतिर चिसो भयो । चिसोले गर्दा छोरा ब्युँझियाे । आफू सुत्ने ठाउँतिर पानीले ओछ्यान भिजेको थियो । उसले आमाको हातमा भएको मग र बाल्टिनको पानी देख्यो । उ आमादेखि रिसायाे । छाेराले भन्याे, ‘तपाईको गुण तिर्नको लागि पो म तपाईंसँग सुतेको, यो के गर्नुभएको ? केटाकेटी जस्तो किन यसरी ओछ्यानमा पानी पाेखेर भिजाउनुभएको ? सुत्न किन दिनुहुन्न ? अब यस्तो चिसो ओछ्यानमा कसरी सुत्ने ?’

आमाले मुस्कुराउँदै भनिन्, ‘छोरा, तँ सानो हुँदा त म तँसँगै सुत्थेँ । तैँले पाँच वर्षसम्म जहिले पनि ओछ्यान भिजाउथिस्, पिसाब गरेर । तैँले ओछ्यान मात्रै होइन, मेरो र तेरो कपडा पनि सबै भिजाउथिस् । मैले जहिल्यै तेरो कपडा परिवर्तन गरेर तँलाई सुख्खा भागमा सुताउथेँ । अनि म तैँले भिजाएको ठाउँमा सुत्थेँ । तँ मेरो गुण तिर्न चाहन्छस् हैन ? तँ यो चिसो ओछ्यानमा सुत्न सक्छस् ? म त तेरो लागि पाँच वर्ष चिसो ओछ्यानमा सुतेकी छु । आज यो एक रात तँ यो चिसो ओछ्यानमा सुतिस् भने तैँले मेरा सारा गुणको ऋण चुक्ता गर्नेछस् ।’

आमाको कुराले छोराको गहभरि आँसु भयो । छोरा केही बोल्नै सकेन । छोराले आमालाई अँगालो हालेर भन्याे, ‘सरी मामु, जीवनभरि म तपाईको ऋणी हुनेछु ।’

(नैतिक सन्देश : संसारको सबै ऋणमध्ये एक ऋण कहिल्यै तिर्न सकिँदैन । त्यो हो आमाको ऋण । तपाईले आफ्नी आमाले हुर्काएको र हेरचाह गरेको आमाको ऋण कहिल्यै तिर्नसक्नुहुन्न । हामी जीवनभर ऋणी भएर बस्नुपर्ने हुन्छ र याे ऋण तिर्छु भनेर हामीले धाक लाउनु पनि हुँदैन ।)

प्रतिक्रिया दिनुहोस्
LIVE TV