११ बैशाख २०७७, बिहीबार

काठमाडौँ, ११ वैशाख । एकातिर रातारात समाजवादी पार्टी र राजपाबीच एकताको सहमति भइरहँदा अर्कोतिर समाजवादी पार्टीमा रातारात विभाजन पनि देखिएको छ ।

समाजवादीकी नेतृ रेणु यादवको नेतृत्वमा सो पार्टीका सात सांसदहरुले नयाँ दल दर्ता गर्ने निर्णय गरेपछि पार्टी फुटको दृश्य सतहमा आएको हो । बुधबार साँझदेखि परामर्श र छलफल पश्चात राति नै समाजवादी पार्टीकी सहअध्यक्ष समेत रहेकी रेणु यादवको नेतृत्वमा सात सांसदले नयाँ दल दर्ता गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

समाजवादीकी सांसद रेणु यादवसहित अन्य सांसदहरु मोहम्मद ईस्तियाक राई, डा सुरेन्द्रकुमार यादव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, कलुदेवी विश्वकर्मा र प्रदीप यादव नयाँ पार्टीमा आबद्ध हुने स्रोतको दाबी छ ।

समाजवादी पार्टी फुट्ने हल्ला यसअघि नै बाहिर आएको थियो । शीर्ष नेतृत्व पनि यसबारे जानकार थियो । समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले रेणु यादव र उनको गुटलाई थामथुम गर्ने प्रयास गरिरहे पनि असफल भएको बताइन्छ । फुट्ने निश्चित भएपछि बुधबार राति नै समाजवादी र राजपामै पार्टी एकताको समझदारी गरेका हुन् ।

सरकारले सोमबार पार्टी विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाली राजनीतिमा एकाएक तरंग छाएको थियो । कुनै अर्को दलले अनुनय गरेकाले सो अध्यादेश ल्याएको प्रधानमन्त्री केपी ओलीले नै नेकपा नेताहरुलाई बताएका थिए । नभन्दै समाजवादीकी रेणु यादवको नेतृत्वमा केही सांसदहरूले नयाँ पार्टी दर्ता गर्ने निर्णयसँगै अर्कोतिर समाजवादी र राजपाबीच रातारात एकताको सहमति भएको छ । यसले नेपाली राजनीतिमा फेरि तरंग छाएको छ ।

पछिल्लो अध्यादेश अनुसार दल विभाजन गरी नयाँ दलको मान्यता पाउन साविक कायम केन्द्रीय सदस्य वा सांसदमध्ये ४० प्रतिशत आवश्यक पर्छ । समाजवादीमा हाल १७ सांसद छन् ७ जनाले ४० प्रतिशत पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV