१० बैशाख २०७७, बुधबार

काठमाडौं, १० बैशाख । बलिउडका चर्चित कलाकार मिथुन चक्रवर्तीको बुबा बसन्त कुमार चक्रवर्तीको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उमेरसँग सम्बन्धित विभिन्न रोगका कारण बसन्त कुमार चक्रवर्तीको ९५ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो ।

तर, अहिलेको समय लकडाउनका कारण अभिनेता मिथुन भने बेंगलुरुमा फसेका छन् । उनी एक शुटका लागि बेंगलुरु पुगेका थिए । कोरोना भाइरसको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै भारत सरकारले लकडाउनको घोषणा गरेसँगै अभिनेता मिथुन बेंगलुरुमै रोकिनु परेको थियो ।

२१ दिनको लकडाउन सकिएसँगै भारतको केन्द्रीय सरकारले पुनः लकडाउन ३ मेसम्म बढाइसकेको छ । यसैबीच, अभिनेता मिथुन आफ्नो बुबाको अन्तिम संस्कारका लागि मुम्बई पुग्ने कोसिस गरिरहेका छन् ।

त्यस्तै, चर्चित बंगाली अभिनेत्री रितुपर्णा सेनगुप्ताले ट्वीट गर्दै अभिनेता मिथुन चक्रवर्तीको बुबाको निधन भएको कन्फर्म गरेकी छन् । साथै, उनले अभिनेता मिथुनको बुबाको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई हिम्मत दिनका लागि भगवानसँग प्रार्थना पनि गरेकी छन् ।

बसन्तकुमार चक्रवर्ती आफ्नो श्रीमति शान्तिमोई चक्रवर्ती र छोरा गौरंगा चक्रवर्ती उर्फ मिथुन चक्रवर्तीको परिवासँग मुम्बईमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV