कोरोना भाइरसलाई हल्कारुपमा लिनु नै अधिकांश मुलुकको गल्ती : डा.ओमूर्ति अनिल



प्रकाशित मिति : Apr 06, 2020

काठमाडौं, २४ चैत । मुटुरोग विशेषज्ञ डा. ओमूर्ति अनिलले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित सय जना मध्ये दश जनाको ज्यान जाने गरेको तथ्यांक भएको जानकारी दिनुभएको छ ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्न कार्यक्रममा डा. अनिलले भन्नुभयो, “इटालीको पछिल्लो तथ्यांकलाई हेर्दा कोरोना संक्रमित सय जनामध्ये दश जनाको ज्यान जाने गरेको पाइएको छ । त्यस्तै चीनमा दुई तीन प्रतिशत देखिएको थियो । र, समग्रमा विश्वभर हेर्ने हो भने चार प्रतिशत हुन आउँछ ।”

मुटुरोग विशेषज्ञ डा. ओमूर्ति अनिल

यसैबीच एउटा सुविधा सम्पन्न अस्पतालमा एउटा हर्टअट्याकको विरामी आएमा उनको ज्यान जाने जोखिम आठदेखि दश प्रतिशत हुने डा. अनिलको भनाइ छ ।

कोरोना भाइरस र हर्टअट्याकको तुलना गर्नु राम्रो नभएको बताउँदै उहाँले भन्नुभयो, “मृत्युको हिसाबले हेर्ने हो भने कोरोनाले एकैपटक विश्वलाई असर गर्नसक्छ । पूरै परिवार र समाजलाई एकै पटक असर गर्नसक्छ । तर, हर्टअट्याक भनेको एक जनाबाट अर्कोमा सर्नसक्दैन ।”

उहाँले थप्नुभयो, “रुघाखोकी, फ्लूबाट वर्षेनी यति धेरै मान्छै मर्छन् तर कोरोनाबाट यति थोरै मात्र मरेका छन् भन्ने विभिन्न किसिमका सोसल मिडियामा कप्यारिजन देखिन्छ । जसले गर्दा मान्छेलाई डर नलाग्ने बनाइदियो । तर, कोरोना सरुवा रोग हो । संसारभर एक रुप लिइसक्यो यसले । एक जनाबाट अर्कोमा सर्नु, जवान मान्छेलाई असर गर्नुका साथै सामाजिक, आर्थिक र पूरै देशलाई दशकौं वर्ष पछाडि धकेलिसक्यो ।”

यसैबीच उहाँले यस विषयमा अधिकांश राष्ट्रहरु संवेदनशील नबनेको आरोप पनि लागाउनुभएको छ ।

उहाँले भन्नुभयो, “हाम्रो हेल्थ सिस्टम राम्रो छ, हाम्रो जनताहरु एकदमै बुझेका छन, हामी जस्तो परिस्थितिलाई पनि सामना गर्नसक्छौं भन्नेहरु भ्रममा परे, त्यसैले उनीहरुलाई ठूलो समस्या आइलाग्यो ।”

बाँकी कुराकानी भिडियोमा हेर्नुहोला


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com