कोरोना संक्रमित युवतीसँगै विमानमा आएका अर्का यात्रु लाइभ, विशेष चिकित्सक स्टुडियोमा (भिडियो)



प्रकाशित मिति : Mar 25, 2020

काठमाडौं, ११ चैत । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५१२ औं एपिसोड हो ।

कार्यक्रमको आजको एपिसोडमा पनि विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको विषयमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

त्यस्तै, सम्बन्धित निकायसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. कतारबाट कोभिड–१९ संक्रमित युवतीसँगै आएका १२५ जनाको पहिचान

काठमाडौं, ११ चैत । गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीसँगै यात्रा गरेका १ सय २५ जना यात्रुको पहिचान भएको छ ।

हिजो सरकारले फ्रान्सबाट आएकी युवतीमा कोरोना संक्रमण भएको पुष्टि गरेपछि उनीसँगै विमानमा सवार गरेका १ सय २५ जनाको पहिचान भएको हो । अब त्यस विमानमा सवार ३३ जना यात्रुको पहिचा बाँकी छ ।

चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् ती युवती काठमाडौं उत्रिएकी थिइन् । युवती काठमाडौं आएका दिन कतारका क्यूआर ६५०, क्यूआर ६५२ र क्यूआर ६५३ जहाजले उडान भरेका थिए ।

२. ‘लकडाउन’को अवज्ञा

काठमाडौं । सरकारले मुलुकभर लकडाउनको घोषणा गरे पनि कतिपय ठाउँमा भने त्यसको अवज्ञा भएको छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक काम बाहेक अन्य काममा बाहिर ननिस्कन आग्रह गरेपनि कतिपय स्थानमा भने मानिसहरुले अटेर गरेका छन् ।

लकडाउनको अटेरी गर्दै काँकडभिट्टाबाट २२ जना यात्रु बोकेर पोखराको जगदमबा टुर्स एण्ड ट्राभलको ग १ ख ९०१८ नम्बरको बस पोखरा पुगेको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा लकडाउनको अवज्ञा गर्दै सडकमा आएका ४८ ओटा मोटरसाइकल तथा स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

३. सीमानाकामा अलपत्र नेपाली नागरिकलाई आज एक दिन नेपाल प्रवेश गर्न दिइने

काठमाडौं । सरकारले भारतबाट घर फर्कदा सीमानाकामा अलपत्र नेपालीहरुलाई आज एक दिनका लागि नेपाल प्रवेश गर्न दिने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

समितिले मंगलबारसम्म सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न अनुमति दिने निर्णय गर्दै बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com