प्रदेश ५ का किसानहरुलाई राहत, अब बैंकको व्याजमा प्रदेश सरकारले किसानलाई अनुदान दिने (भिडियो)



प्रकाशित मिति : Mar 20, 2020

काठमाडौं, ०७ चैत ।

१. प्रदेश ५ का किसानहरुलाई राहत, अब बैंकको व्याजमा प्रदेश सरकारले किसानलाई अनुदान दिने

प्रदेश सरकारहरुले किसानका लागि एक पछि अर्को गर्दै राहतका कार्यक्रमहरु अघि सार्न थालेको छ ।

यही क्रममा प्रदेश ५ सरकारले पनि किसानहरुका लागि ‘शुलभ कृषि कर्जा’ कार्यक्रम र नीति अघि सारेको छ । कृषिमा आधारित उद्यम व्यवसाय गर्ने किसानलाई बैंकबाट लिएको कृषि कर्जामा ब्याज अनुदान दिने सरकारी निर्णय भएपछि प्रदेश ५ सरकारप्रति प्रदेश ५ का किसानहरु अनुग्रहित भएका छन् ।

नेपाललाई कृषि कर्ममा आत्मनिर्भर बनाउन पहल भइरहेको अवस्थामा प्रदेश ५ सरकारको यो कदम किसानहरुका लागि हर्षको उपहार बन्न पुगेको छ । यो कदमले निश्चितरुपमा किसानहरुमा उत्साह भर्नेछ भने त्यस्को असर किसानहरुले लगाएको फसलमा देखिने छ ।

२. हस्तान्तरण अघि क्षतिग्रस्त बनेको बर्दियाको जब्दीघाट पुलको पुनर्निर्माणको सुरसार छैन

तीन बर्ष अघिको बाढीले बर्दियाको जब्दीघाट पुल क्षतिग्रस्त बन्यो । पुलको निर्माण कार्य सम्पन्न गरे पनि हस्तान्तरण हुन नपाउँदै पुल क्षतिग्रस्त बनेपछि निर्माणकर्ता कम्पनी पप्पु कन्स्ट्रक्सनको सर्वत्र आलोचना भयो ।

आलोचना त भयो तर काम भने जहाँको त्यहीं रहयो जस्को कारण पुलबाट आवतजावतको कार्य ३ बर्ष वितिसक्दा पनि ठप्प छ ।

बाढीले पुलमा रहेका १४ मध्ये ३ पिलर भासिएपछि यातायात समते ठप्प छ । १७ करोडको लगानीमा निर्माण भएको पुल काममा आउन नपाउँदै भासिए पछि पुनर्निर्माणका लागि पुनः करोडौ खर्च गर्नु पर्ने अवस्था छ ।

देशव्यापीरुपमा बदनामी कमाएको पप्पु कन्स्ट्रक्सनलाई अहिले सरकारले सबै खालका निर्माण कार्यहरुबाट वञ्चित गरिसके पछि अब पुलको पुनर्निर्माण कस्ले गर्ने हो ? जवाफ कुनै पनि निकायले दिन सकेको छैन् ।

संघीयदेखि प्रदेशका मन्त्रीहरु धेरैले पुलको अनुगमन गरिसके पनि बर्दियाको दुई नगरपालिकालाई जोडने यो पुलको प्रयोग गर्न नपाउँदा बर्दियावासीहरु भने सकसमा परेका छन् ।

३. वनैभरि र मनैभरि फूल्ने लालीगुराँस मात्र फूलिरहन्छ तर यस्को महत्व कस्लाई थाहा र ?

लालीगुराँस नेपालको राष्ट्रिय फूल । नेपालको पहाडी तथा हिमाली जिल्लाहरुलाइ यो फूलले हरेक बर्ष शोभायमान बनाउँदै आएको छ । पूर्वदेखि पश्चिमसम्म सबै पहाडी र हिमाली जिल्लाका वनहरुमा फूल्ने यो फूलको उपादेयता भने विशेष नै छ ।

आन्तरिक पर्यटक मात्र नभइ वाह्य पर्यटक लोभ्याउने महत्वपूर्ण माध्यम बन्दै आएको यो फूल औषधिका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । तर, यसको महत्व नबुझ्दा लालीगुरास अहिले धेरै गाउँलेका लागि वनको शोभा र दाउरा भन्दा बढी केही हुन सकेको छैन ।

तर, ग्रामीण पर्यटनका लागि र औषधिकोरुपमा पनि उत्तिकै प्रभावशाली मानिए पछि अहिले लालीगुराँसलाई आयआर्जनसंग जोड्न धेरै स्थानीय तहहरु सक्रिय बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com