मदिरा सेवनबाट थप २ जनाको मृत्यु, २ दर्जनबढी बिरामीहरू प्रादेशिक अस्पतालमा



प्रकाशित मिति : Mar 15, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, २ चैत । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

आईतबार बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जितेन्द्र सदाको मदिरा सेवनका कारण मृत्यु भएको जनकपुर उप-महानपा–७ का वडा अध्यक्ष जानकी राम साहले जनाएका छन् । आजै बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिका–५ का लगभग ३४ वर्षका विश्वनाथ यादवको पनि मृत्यु भएको हो । यादव गाउँपलिकाका भुपु उपाध्यक्ष भुटन यादवका छोरा हुन् ।

यता वार्ड ७ स्थित मुसहरीमा मृत्यु हुनबाट जोगाउन धामी-झाँक्रीहरुले देउतालाई पूजापाठ सुरु गरेका छन् । सिकिस्त भएकाहरुलाई देउताअगाडि राखेर पूजा पाठ गर्दैगर्दा स्थानीय प्रहरीले हस्तक्षेप गरेर टोलमा बिरामी भएकाहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा लगेको छ ।

मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदाकाे पनि मदिरा सेवनका कारण मृत्यु भएकाे जनाइएकाे छ । होलीका अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ तथा मिथिला र झगरुको शनिबार मृत्यु भएको हो ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृत्यु भइसकेको बताइएकाे थियाे । अत्यधिक मदिरा सेवन गरेर मृत्युहुनेको संख्या १७ भए पनि स्थानीय प्रशाशनले अहिलेसम्म आधिकारिक रूपमा ९ जनाको मात्र पुष्टि गरेको छ ।

उनीहरू सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् ।

अहिले विषाक्त घरेलु मदिराले निम्त्याएको मानवीय क्षतिका कारण सारा रमदैया गाउँ नै शोकमा डुबेको छ । मदिरा सेवनबाट मृत्यु हुनेहरु प्रायः गरिब विपन्न र दलित समुदायका छन् ।

केही पक्राउ

धनुषामा विषाक्त घरेलु मदिरा सेवनका कारण मानवीय क्षति भएपछि प्रहरीले अनुसन्धानका क्रममा मदिरा बिक्री वितरण गर्ने सातजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ सखरी टोलका ४७ वर्षीय जगतनारायण मण्डल, धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–६ को बगेवा गाउँका २४ वर्षीय नवीन यादव, ५० वर्षीय घुरन यादव, क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ४५ वर्षीया तारापट्टीबाली भनिने छटियादेवी मण्डल, रमदैयाकै ४१ वर्षीय जयकुमार यादव, ४८ वर्षीय रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने ३५ वर्षीया शीतलदेवी यादव रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com