गाउँमा नै चाउमिन उद्योग, मनग्गे आम्दानी



प्रकाशित मिति : Mar 12, 2020
  • यामराज कटुवाल,

दैलेख, २९ फागुन । लगनशील भएर मेहनत गरे गाँउमै विदेश गए बराबर आम्दानी गर्न सकिन्छ र अन्यलाई रोजगारी सृजना समेत गर्न सकिन्छ । करिब २० वर्ष सम्म भारतमा काम गरेर फर्किएका ना.न.पा.२ का लाल बहादुर दशौदीले भारत बसेर भारतीय उद्योगमा सीप सिकेर घर फर्के ।

भारतमा बसेर भएको कमाइले वडा नं. २ जाहारकोटमा घर जग्गा खरिद गरे, घर आएपछि अब पुनः अर्काको देशमा काम नगर्ने भन्दै उनले आफैले सिकेको सीप प्रयोग गरेर अहिले राम्रो उद्यमी बन्न सोचे । उनले आफ्नो सोचलाई पुर्णता पनि दिए, उनी सफल भए । भनिन्छ, ‘संसार जित्नेहरुका लागि हो’ तर कसरी जित्ने त्यो व्यक्तिमा भर पर्दछ । उनले आफुले सिकेर आएको सीपको प्रयोगबाटै सीप सिके र कर्मठ हातहरुले जिते ।

आफ्नै घरमा चार जनालाई रोजगारी
आफ्नै घरमा सञ्चालनमा रहेको चाउमिन उद्योगले सफलता देला त ? उनीमा डर थियो । आत्मविश्वासका साथ गरेको कामले सफलता हासिल हुन्छ नै, उनले सफलता प्राप्त गरे । घरमै उत्पादन गरेको चाउमिन दैनिक २ क्विन्टल ५० केजी बिक्री वितरण गर्दै आएका दशौदीले अहिले ४ जनालाई गाउँमै रोजगारी दिएका छन् ।

उद्योगमा उत्पादन भएको चाउमिन बिक्री गरेर मासिक ६० हजार आम्दानी हुने गरेको छ । कर्मचारी तलब, ग्याँस खर्च, अन्य सामाग्री खर्च कटाएर मासिक ६० हजार सम्म आम्दानी हुने गरेको छ, दशौदीले भने ।

चाउमिन उत्पादनका लागि मिक्चर मेसिन छ, दुई घण्टासम्म पिठो मेसुपछि कटिङमा राखिन्छ । दुई घण्टासम्म स्ट्रिम ड्रममा राखेपछि चाउमिन तयार हुन्छ । तयार भएको चाउमिन प्याकिङ गरेर बिक्रीका लागि सदरमुकाम दैलेख बजार लगायत दैलेखका अन्य विभिन्न बजार केन्द्रहरूमा पठाउने गरेका छन् ।

हौसला बोकेर उद्योग सञ्चालन गरेका दशौदीलाई अहिले बैंकले केही मात्रामा ऋण उपलब्ध गराएको छ । आफूले गरेको पौरख अनुसार बैंकले भने जत्ति ऋण दिएको भए दैलेखका सबै स्थान र सुर्खेतसम्म आफ्नो व्यापार बिस्तार गर्ने उनको योजना रहेको बताएका छन् ।

चाउमिन बिक्री वितरणका लागि सवारी साधनको आवश्यक परेपछि साहुसँग चर्को व्याजमा गाडी खरिद गरेका दशौदी अहिले आफू मर्कामा परेको गुनासो समेत गरेका छन् । गाडीको नियमित १७ किस्ता रकम बुझाइसकेपछि गाडी पास गरौँ भन्दा साहुले गाडी नै अन्यत्र बिक्री गरिदिएपछि आफूलाई २५ लाख रकम घाटा परेको दुखेसो समेत पोखे । उनले यस विषयमा सम्बन्धित निकायहरूसँग कानुनी उपचारको बाटो खोजे तर आफुले न्याय नपाएको दशौदीको गुनासो छ ।

दशौदीले पत्रकार मार्फत आफ्नो समस्या उजागर गरेर आफूलाई न्याय दिलाउन आग्रह समेत गरे । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतलाई यसबारे जानकारी गराएको र आफ्नो समस्याको बारेमा छानबिन गरी न्याय दिलाउन प्रशासनले आफूलाई सहयोग गर्ने दशौदीले आशा गरेका छन् । आफ्नो गुनासोको बारेमा अनुसन्धान गरेर न्याय दिलाउन सहयोग गर्ने पत्रकारले प्रतिवद्धता गरेकोले आफू न्याय पाउने आशामा रहेको दशौंदीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com