साविक विजेता लिभरपुल च्याम्पियन्स लिगकाे प्रि-क्वाटरफाइनलबाटै बाहिरियाे



प्रकाशित मिति : Mar 12, 2020

एजेन्सी, २९ फागनु । साविक विजेता इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

बुधबार राति भएको लिगकाे दोस्रो खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग अतिरिक्त समयमा ३-२ ले पराजत हुँदै समग्रमा ४-२ को हार ब्यहोर्दै लिभरपुल च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको हो । पहिलो लिगमा एथ्लेटिको मड्रिडकाे घरेलु मैदामा लिभरपुल १-० ले पछि परेको थियो ।

एथ्लेटिको मड्रिडलाई जित दिलाउनको लागि मार्कस लोरेन्टे दुई र अल्भेरो मोराटाले एक गोल गरे । लिभरपुलका जर्जिन्हो विज्नल्डम र रोवर्टो फिर्मिनोले समान एक एक गोल गरे पनि हार भने टार्न सकेन ।

निकै प्रतिस्पर्धात्मक खेलको ४३ औं मिनेटमा विज्नल्डम गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले एलेक्स अक्सलेड चेम्वरलेनको पासमा गोल गरेका थिए ।

त्यसपछि निर्धारित समयमा गोल हुन नसक्दा खेल १-० गोल अन्तरले लिभरपुलले जित्यो । तर, खेल समग्रमा १-१ को बराबरी भएपछि ३० मिनेट समयमा थपिएको थियो । जहाँ एथ्लेटिको हिरो बन्यो ।

अतिरिक्त समयमा रोवर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए तर घरेलु मैदानमा लिभरपुल निरिह बन्दा एथ्लेटिकोले तीन गोल गर्दै लिभरपुललाई स्तब्ध बनायो ।

९४औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलाई खेलमा अग्रता दिलाएका थिए । गोल खाएको ३ मिनेटपछि नै एथ्लेटिकोका लागि सब्सिच्युट खेलाडी मार्कोस लोरेन्टोले शानदार गोल गर्दै खेललाई समग्रमा बराबरीमा ल्याए । उनले जुआओ फेलिक्सको पासमा गोल गरेका थिए ।

अतिरिक्त समयको पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा लोरेन्टेले व्यक्तिगत दोस्रो गोल गर्दै एथ्लेटिको मड्रिडलाई समग्रमा ३-२ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा मोराटाले लोरेन्टोको पासमा वान भर्सेस वानमा गोल गरेपछि एथ्लेटिकोले ३-२ तथा समग्रमा ४-२ गाेल अन्तरले खेल जित्याे ।

याे सँगै साविक विजेता र उपविजेता च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएका छन् । साविक उपविजेता इंग्लिस क्लब टोटनह्याम हस्टपर पनि यसअघि नै प्रतियोगितबाट आउट भइसकेको छ ।

मंगलबार राति भएको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन प्रतिद्वन्द्वी आरबी लाइप्जिगसँग ३–० ले पराजित हुँदै समग्रमा ४-० को फराकिलो हार ब्यहोर्दै टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको थिायो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com