चन्द समूहलाई लगाइएको प्रतिवन्धको एक वर्षः बुधबार पूर्वमन्त्रीकै घरमा विष्फोट !



प्रकाशित मिति : Mar 11, 2020

काठमाडौं, २८ फागुन । नेत्र विक्रम चन्द समूहलाई सरकार ठिक एक वर्ष अघि अर्थात २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । यो एक वर्षमा चन्द समूहले विभिन्न स्थानमा विष्फोट, चन्दा आतंकलाई तीव्रता दियो, सरकारले पनि उसका नेता\कार्यकर्तालाई पक्राउ गर्न छाडेको छैन । आज मात्र पनि चन्द समूहले पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गरायो ।

सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको बुधबार एक वर्ष पूरा भएको छ । प्रतिबन्ध लगाएको एक वर्ष पूरा भएको दिन बिहानै चन्द समूहले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरको कम्पाउन्डमा शक्तिशाली विस्फोट गरायो ।

२०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल टावर अघि ज्यान लिने गरि भएको विस्फोटपछि सरकारले चन्द समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यस घटनामा बाटोमा हिँडिरहेका एक जनाको ज्यान गएको थियो । त्यस यता, प्रहरीले हालसम्म चन्द समूहका नेता\कार्यकर्तालाई दुई हजार ९ सय ४२ जनाविरुद्ध विभिन्न कसूरमा मुद्दा दर्ता गराएको छ ।

प्रहरीले ३ सय ५२ जनालाई सोधपुछपछि छाडेको छ भने २ हजार ७ सय १६ जना मुद्दा दर्ता भइसकेपछि छुटेका छन् ।

यद्यपि, हिंसात्मक गतिविधि रोकिएको छैन । एक वर्षको अवधिमा प्रहरीसँग भएको मुठभेडमा चन्दसमूहका ३ जना नेता मारिएका छन् भने नेपाल प्रहरीतर्फ पहिलो पटक २५ असारमा भोजपुरमा जवान सञ्जिव राई मारिएका थिए । प्रहरीले ब्यापक धरपकड गरिरहेपनि चन्द समूहले लगातार राजधानी केन्द्रित विस्फोट गराइरहेको छ ।

गत जेठमा राजधानीमा ठूला विस्फोटका घटना गराउने तयारी गरिरहेका बेला भएको विस्फोटमा ६ जनाको ज्यान गएको थियो । ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुनस्थित घरको कम्पाउन्डमा पनि विस्फोट गराएको थियो । वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्षको महाराजगन्जस्थित घरमा पनि विस्फोट भएको थियो ।

हतारमा प्रतिबन्ध लगाउँदा एक वर्षदेखि विभिन्न स्थानमा जनधनको क्षति भइसक्दा पनि सरकारले यसअघि चन्द सूमहसँग छलफलका लागि गठन गरेको वार्ता समिति पनि अहिले मौन छ । न त सरकारले प्रतिबन्ध लगाउनुको औचित्य पुष्टि गर्न सकेको छ न त चन्द समूहले आतंक मच्चाउनुको औचित्यसिद्ध गरेको छ । तर, सरकार र चन्द समूहको टस को मस अवस्थाले मुलुकको शान्ति सुरक्षामा भने प्रश्न उठाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com