मुगुको रारा चाल्चा विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा



प्रकाशित मिति : Mar 11, 2020
  • दान बहादुर बुढा,

मुगु, २८ फागुन । हिमाली जिल्ला मुगुको रारा चाल्चा विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । छिमेकी राष्ट्र चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९’को संक्रमणबाट बच्नका लागि आइतबार विहानबाट हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै, छायाँनाथ रारा नगरपालिका–१३ बाम र छायानाथ रारा नगरपालिका–७ पिनामा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनुभयो ।

सञ्चालनमा ल्याइएको हेल्थ डेस्कबाट कसैमा कोरोना भाइरसको संक्रमण देखिएमा तुरुन्तै जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगु रिफर गरिने उहाँले बताउनुभयो ।

जिल्लामा भित्रिने र बाहिरिने सबै यात्रुहरुको स्वास्थ्य परीक्षण गरिने बताइएको छ । कुनै यात्रुमा कोभिड–१९ को संक्रमण देखिएमा १५ दिनसम्म क्वारेन्टाइनमा राखिने डा.नगरकोटीको भनाइ रहेको छ ।

उहाँले भन्नुभयो, ‘जिल्ला अस्पताल मुगुले त्यस्ता लक्षण देखिएका विरामी राख्नका लागि छुट्टै क्वारेन्टाइन भवनको व्यवस्था गरिएको छ ।’

त्यस्तै, खत्याड गाउपालिका, सोरु गाउपालिका र मुगु मकार्मारोङ्ग गाउपालिकामा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याउनका लागि निर्देशन दिइसकेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com