नारी दिवसको अवसरमा कमलामाई नगरपालिकाद्वारा ६५ जना श्रमिक महिला सम्मानित



प्रकाशित मिति : Mar 08, 2020
  • राजन परियार,

सिन्धुली, २५ फागुन । सिन्धुलीको कमलामाई नगरपालिकाले ६५ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले मार्च ८ अर्थात्, ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाको ग्वाङखोला किनारमा वर्षौंदेखि गिट्टी कुटेर जीवन धान्दै आएका ६५ जना महिला श्रमिकहरुलाई दोसल्ला ओढाई जनही एक÷एक हजार नगद दिएर सम्मान गर्नुभएको हो ।

कोरोना भाइरसको त्रासका कारण कुनै पनि कार्यक्रमको आयोजना नगरी श्रमिक महिलाहरुले काम गर्दै आएका स्थानमै पुगेर सम्मान गरिएको थियो ।

गरीब, किसान र मजदुरले दिएको मतबाट जितेर आफूहरु पदमा पुगेपनि सोचे जस्तो काम गर्न नसकेको कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सानो सहयोग गरेका छौं । अब तपाईहरुको निःशुल्क स्वास्थ्य बीमा र स्वास्थ्य परीक्षण समेत गर्ने योजना बनाउँदै छौं ।’

महिला दिवस थाहै नभएका श्रमिक महिलाहरु नगद र दोसल्लासहित सम्मानित हुँदा निकै हर्षित देखिन्थे । परिवार पाल्नकै लागि हरेक दिन गिट्टी कुट्नुपर्ने बाध्यता रहेको महिला श्रमिकहरुको भनाइ थियो ।

विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले महिला अधिकार, महिला सशक्तिकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंसा उन्मुलनका लागि वर्षेनी करोडौं रुपैयाँ खर्च गरेपनि वास्तविक श्रमिकहरुको जीवनमा कुनै सुधार आएको छैन ।

नगरपालिकाद्वारा सम्मानित हुने अधिकांश महिलाहरु गरीब र ऐलानी जमिनमा स–साना टहरा बनाएर बस्नेहरु थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com