बाराका पत्रकार बीरेन्द्र साहको हत्यारा फौजदार प्रहरीद्वारा सार्वजनिक



प्रकाशित मिति : Mar 08, 2020
  • बसन्त खतिवडा

बारा २५ फागुन । बाराका पत्रकार बीरेन्द्र साहका हत्यारा नरेन्द्रकुमार फौजदार कुन्दनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । फौजदारलाई उनकै घरबाट गए राति २ बजे नियन्त्रणमा लिईएको बारा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

१२ वर्ष देखि फरार सूचीमा रहेका फौजदार हाल बारागढी गाउँपालिका ६ गडहलबाट पक्राउ परेका हुन । पत्रकार बीरेन्द्र साहलाई फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जना व्यक्तिले अपहरण गरी गोली प्रहार गरी मारेका थिए ।

पत्रकार बीरेन्द्र साहको हत्यामा संलग्न अन्य दुई जना मनेजर गिरी र राम एकवाल सहनीलाई यस अघि नै पक्राउ गरी अदालत पेश गरिएको थियो । अदालतले हत्यामा संलग्न भन्दै निज दुवैलाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो ।

मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी गत वर्ष छुटेका थिए भने, अर्का अभियुक्त रामएकवाल सहनी १० वर्ष देखि बीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

पत्रकार साहलाई २०६४ साल असोज १८ गते बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको अवस्थामा करिव एक महिना पछि उनको शव टाँगियाबस्तीको जंगलमा भेटिएको थियो ।
पत्रकार साहको हत्यामा संलग्न मध्येका लालबहादुर चौधरी र हरेराम पटेल अझै फरार छन् ।

लालबहादुर चौधरी तत्कालीन माओवादीका जिल्लाका नेतृत्व तहमा रहेका नेता हुन । घटना र प्रहरीको कारवाहीका बारे पत्रकार साहकी पत्नी उमरावतीदेवी साह र कान्छा भाई भैयाराम साहले ढिलै भएपनि प्रहरीको सफलता प्रति खुशी भएको बताए ।

पत्रकार साहको शव हत्या गरी गाडिएको अवस्थामा ३४ दिन पछि फेला परेको थियो । पत्रकारका साहका एक छोरा र एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com