भारतमा भ्रष्टाचारको कहाली : ट्रक ड्राइभरहरुले प्रत्येक बर्ष राजमार्गमा दिने घुस मात्र ४८ हजार करोड रुपैयाँ



प्रकाशित मिति : Mar 08, 2020

नयाँ दिल्ली, २५ फागुन । भारतमा भ्रष्टाचारको कहाली तीब्ररुपमा बढ्दो छ । हरेक निकायमा घुस नदिई कुनै काम नै नहुने अवस्थामा भारत पुगिसकेको तथ्यांकले देखाएको छ ।

पछिल्लो पटक राजमार्गमा हुने घुसकाण्डको विवरण सार्वजनिक गरिदा भारतीय राजमार्गमा कुन हद्सम्मको भ्रष्टाचार हुने गरेको रहेछ ? भन्ने तथ्य छर्लङ्ग बनेको छ ।

भारत सरकारको केन्द्रीय भूमि परिवहन राज्यमन्त्री वीके सिंहले हालै भारतमा ड्राइभरहरुको पछिल्लो स्थितिबारेको प्रतिवेदन सार्वजनिक गरे ।

‘स्ट्याट्स अफ ट्रक ड्राइभर इन इण्डिया’ नाम दिइएको यो प्रतिवेदनमा भारतीय राजमार्गहरुमा ट्रक ड्राइभरहरुले प्रत्येक बर्ष ४८ हजार करोड रुपैयाँ घुस दिने गरेका तथ्य उजागर गरिएको छ ।

सेभ लाइभ फाउण्डेशनको तर्फबाट तयार पारिएको उक्त प्रतिवेदन ट्रक यातायात बढी केन्द्रित रहेका भारतका १० प्रमुख शहरहरुलाई छुने राजमार्गहरुमा केन्द्रित भएर तयार गरिएको थियो ।

नयाँदिल्ली, मुम्बई, चेन्नई, कोलकाता, बैंग्लोर, जयपुर, अहमदाबाद, गुवाहटी, कानपुर र विजयवाडालाई छुने राजमार्गमा १२ सय बढी ट्रक ड्राइभर, १ सय बढी पारवहन सेवा सञ्चालन गर्दै आएका ट्रक मालिक र ट्रकको कारोबार सम्हाल्दै आएका सयौं प्रबन्धकसंगको कुराकानीको आधारमा प्रतिवेदन तयार पारिएको हो ।

८३ प्रतिशत ट्रक ड्राइभरको गनुासो : घुस नदिई चल्नै गाह्रो

प्रतिवेदनका अनुसार भारतभर चल्ने ट्रकहरुका करिब ८३ प्रतिशत ट्रक ड्राइभरहरुले राजमार्गमा ट्रक गुडाइरहदा घुस दिनु परेको गुनासो गरेका छन् ।

भारतमा ट्रक ड्राइभरहरु र भ्रष्टाचारबीचको सम्बन्ध नौलो भने होइन । आज भन्दा करिब १५ बर्ष अघि गरिएको अध्ययनमा पनि यस्तै अवस्था उल्लेख गरिएको थियो । सन् २००५ मा ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको प्रतिवेदनमा नै प्रत्येक बर्ष ट्रक ड्राइभरहरुले २२ हजार करोड घुस दिनु परेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

उक्त प्रतिवेदनमा यो पनि उल्लेख गरिएको थियो कि एक व्यवसायिक ट्रक ड्राइभरले बर्षमा करिब ८० हजार रुपैयाँ घुस दिनुपर्छ ।

तर यसको मतलब यो भने होइन ट्रक ड्राइभरहरुको कारण राजमार्गहरुमा भ्रष्टाचार बढ्दो छ । सेभ इण्डिया फाउण्डेशनका प्रमुख पियुस तिवारी भन्छन्, ‘सन् २००५ देखि २००६ को तुलनामा भारतमा राजमार्गको संख्या र ट्रकहरुको संख्या पनि बढेको छ । यही कारण घुस लेनदेनको परिणाम पनि बढेको छ । तर वास्तवमा १५ बर्षमा ट्रक ड्राइभरहरुले दिने घुस भने कम भएको छ ।’

तिवारीका अनुसार सन् २००६–०७ का बीचमा ट्रक ड्राइभरहरुले अनुमानित प्रति किलोमिटर ७० पैसाको दरले घुस दिनुपथ्र्यो तर, अहिले २०२० मा यो कम भएर प्रतिकिलोमिटर ५३ पैसा कायम भएको छ ।

तर बनारस लखनऊमा दर्जनौ ट्रकहरुको ट्रान्सपोर्ट सम्हाल्ने रमेश कुमारको तर्क भने फरक छ ।

उनी भन्छन्, ‘राजमार्गहरुमा घुस दिनुपर्ने रकम घटेको नभई बढेको नै छ । घुस नदिई राजमार्गमा कुनै पनि ट्रकहरुको चल्न नसक्ने अवस्थामा छन्, विहारको डेयरी आनसोनबाट जौनपुर बनारसको दूरी जम्मा ३ सय किलोमिटर छ तर, यही दूरीमा ६ हजार रुपैयाँ बढी घुस दिनुपर्छ, यसैले पनि अन्दाज लगाउन सकिन्छ घुसको मात्र घटेको होइन अझ बढेको छ ।’

ट्रक ड्राइभरहरुले किन दिनुपर्छ घुस ?

प्रायजसो यातायातको सन्र्दभमा ट्रकको पञ्जिकरण, योग्यता प्रमाण–पत्र, रुट परमिटका कागज बनाउँदा बढी घुस दिनुपर्छ । तर, यो घुस ट्रकका मालिकहरुले चुकाउनु पर्छ ।

जब ट्रक ड्राइभरहरु राजमार्गमा निस्कन्छन् तब ट्रक ड्राइभर र उनका सहयोगीको भेट असलीरुपमा पारवहन अधिकारी, ट्राफिक एवं हाइवे पुलिस, चेकपोष्ट, आयकर अधिकारी र स्थानीय सडक ठेकेदारहरुसँग हुनेगर्छ ।

प्रतिवेदनका अनुसार प्रत्येक १० मा ९ ट्रक ड्राइभरको भेट राजमार्गमा

पारवहन अधिकारी, ट्राफिक र हाइवे पुलिससँग हुन्छ । उनीहरुलाई घुस नदिई ट्रक ड्राइभरहरु एक पाइला पनि अघि बढ्न नसक्ने अवस्था विद्यमान रहेको ‘स्ट्याट्स अफ ट्रक ड्राइभर इन इण्डिया’ को प्रतिवेदनमा उल्लेख छ ।

ती अधिकारीहरुसँग रहेको केही प्रावधानका कारण ट्रक ड्राइभरहरुमाथि उनीहरुले चलान काट्न सक्छन् । त्यसैले पनि ट्रक ड्राइभरहरु झञ्झटमा पर्नु भन्दा रकम दिनु नै उचित मान्छन् ।

ट्रक ड्राइभरहरु अधिकांश पढेलेखेका हुँदैनन् । त्यसैले पनि उनीहरु सम्बन्धित अधिकारीहरुसँग बहस गर्न सक्ने क्षमताका हँुदैनन् । उनीहरु माथिको शर्त नै यो हुन्छ कि उनीहरुको काम नै लगातार सडकमा ट्रक दौडाउनु हो ।

प्रतिवेदनका अनुसार ट्राफिक र हाइवे पुलिसले सबैभन्दा बढी ट्रक ड्राइभरहरुसँग नै असुली गर्छन् । विना कुनै गल्ती र कारण पनि ट्रक ड्राइभरहरुसँग घुस माग्ने गरिएको छ ।

सीट बेल्ट नबाँधेको बहानमा पनि १३ प्रतिशत बढी ट्रक ड्राइभरहरुले घुस दिदै आएका छन् । यस अलावा भार क्षमता भन्दा बढी बोकेको आरोपमा पनि घुस दिनु पर्ने बाध्यता छ ट्रक ड्राइभरहरुसँग ।

यस बाहेक स्थानीय तहमा पनि विभिन्न नामका कर लिने गरिदा त्यसलाई छल्न पनि उनीहरुले घुसको बाटो नै अपनाउनुपर्छ । कतिपय स्थानीय तहमा विभिन्न नाममा र आयोजनाहरुको उत्सव भनेर समेत ट्रक ड्राइभरहरुले रकम दिनुपर्ने बाध्यता छ ।

२६ प्रतिशत ट्रक ड्राइभरहरुले स्थानीय तहका माफियाहरुलाई समेत रकम दिनु पर्ने विवशता छ ।

भारतीय राजमार्गमा कुल ५९ लाख बढी ट्रक

भूमि परिवहन मन्त्रालयका तथ्यांकको अनुसार सन् २०१९ को मार्च ३१ सम्ममा भारतमा दर्ता भएका ट्रकको संख्या ५९,०३,३७० छ । यही ट्रकहरु चलाउने ट्रक ड्राइभरहरुले प्रतिदिन २ सय २२ रुपैया औसतमा र बर्षमा लगभग ४८ हजार करोड घुस दिदै आएका छन् ।

तर सामाजिक सञ्जालले बढाएको सचेतनाका कारण अब यो घुस प्रकरण राजमार्गमा कम हुन सक्ने विश्वास पनि प्रतिवेदनको छ ।

मोबाइल फोनको माध्यमबाट घुस लिएको तस्वीर र भिडियो सहजै सामाजिक सञ्जालमा हाल्न सक्ने व्यवस्थाले राजमार्गमा बस्ने अधिकारी र पुलिसहरु डराउन थालेका छन् ।

बीबीसीबाट


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com