नारी दिवस मनाइँदै गर्दा भुल्न नहुने सामाजिक विभेद



प्रकाशित मिति : Mar 08, 2020
  • रूपा घिमिरे

काठमाडौँ, २५ फागुन । आज अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष ८ मार्चका दिन विश्वभर मनाइने यो दिवस विशेषतः नारी उत्थान र जागरुकता अभिवृद्धी गर्ने उद्देश्यले मनाइन्छ ।

१ सय १०औँ अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अन्तर्राष्ट्रियस्तरमा ‘लैंगिक समानताका लागि पाईला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी’ भन्ने नारा तय गरिए पनि नेपालमा भने ‘संविधानलाई व्यवहारमा उतारौं महिला अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ याे दिवस मनाईंदैछ ।

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले कपडा कारखानामा काम गर्ने महिला कामदारलाई मताधिकार दिने उद्देश्यले सर्वप्रथम २८ फेब्रुअरी १९०९मा नारी दिवसको आयोजना गरेको थियो । त्यतीबेला राजनीतिक तवरबाट मनाउन शुरु गरिएको नारी दिवस हाल विश्वभरि नै महिला अधिकार, महिला सशक्तीकरण र समानताको नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

file photo

भुल्न नहुने विभेद

नेपालको सन्दर्भमा संविधानले नै समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायतका मौलिक हकहरूको प्रत्याभूति गरेको छ। पछिल्लो समय शिक्षामा पहुँच बढेसँगै महिलाहरु नीति-निर्माण गर्ने थलोमा पुग्न सफल भएका छन् । यद्यपि यो संख्या चित्तबुझ्दो भने देखिँदैन ।

महिला आत्मनिर्भर बन्दै गइरहे पनि अझै ठूलो संख्याका महिलाले सीप र स्वआर्जनको अवसर पाउन सकेका छैनन् । अवसर पाइहाले पनि महिलाको काममा विश्वास कम गर्ने र समान काममै ज्यालामा विभेद गर्ने परिपाटी अझै कायमै छ ।

त्यस्तै घर घरायसी चुलो चौकोको कामको बोझ महिलामा बढी भएपनि सम्पत्ति र सम्पत्तिमाथि निर्णय गर्ने अधिकारमा पुरुषको नै हालीमुहाली यथावत छ । सामाजिक अन्ध परम्परा, पुरूष सत्तात्मक दृष्टिकाेण, कुप्रथा र सांस्कृतिक दमनजस्ता अनेक काेणबाट अाज पनि नेपाली समाजमा नारी जातिमाथि हुने विभेद, हिंसा, हेलाहाेचाेमा व्याप्त नै छ ।

उपलब्धि पनि छन्

त्यसो भनिरहँदा उपलब्धि हुँदै नभएको पनि होइन । पछिल्ला दिनमा राष्ट्रप्रमुख जस्तो महत्वपूर्ण पदमा महिला रहेको विश्वका केही सीमित मुलुकहरूको सूचीमा नेपालले आफूलाई उभ्याउँदै आएको छ। त्यस्तै प्रधानन्यायाधीश सभामुखजस्तो गरिमामय स्थानमा महिला आसिन हुन सफल भइसकेका छन् यद्यपि सुधारको पाटो भने थुप्रै बाँकी नै छन् ।

तराईमा हुने दाइजोका कारण धेरै चेलीहरु अझै जलिरहेका छन् । छोरीमाथि हुने बलात्कार र हत्याका घटना दिनहुँजसो समाचार बनिरहेका छन् । जसले गर्दा छोरी अशुरक्षितत बनिरहेकै छन् साथै छोरी र छोराबीच हुने विभेदका कारण अझै पनि समाजमा गर्भमै छोरी मारिएका छन् ।

योग्यता र क्षमताको कदर हुने हो भने आजका महिलाले काम गरेर प्रमाणित गर्न सक्छन् पुरुषसरह वास्तविक मैदानमा आएर भिड्न पनि सक्छन् । यसैको उदारण हो आजको युगमा आइपुग्दा महिला अन्तरिक्षमा ३२८ दिन बिताउने सफल यात्री बनेको पनि । महिला राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान्यायाधिश, पाइलट, रेसलर, इन्जिनियर, आदि बन्न सफल भैसकेका छन् ।

यसैले प्रत्येक वर्ष मनाइने यो दिवसले विश्वभरका महिलालाई एक हुन हौसला र प्रेरणा दिन्छ र आफ्नो उपलब्धिहरूमा रम्न सिकाउँछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com