तालिमबिनै परिचालन, स्वास्थ्यकर्मी नै जोखिममा



प्रकाशित मिति : Mar 08, 2020

रूपन्देही, २५ फागुन । कोरोना भाइरस (कोभिङ–१९) संक्रमणको त्रास बढिरहेका बेला भारतसँग सीमा जोडिएको प्रदेश- ५ का विभिन्न नाकामा तालिमबिनै स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कदेखि परीक्षणका लागि आवश्यक पर्ने सामग्री र बस्ने स्थानसम्म अभाव छ । अधिकांश डेस्क सडकमै स्थापना गरिएका छन् । रोकथामको ज्ञान र जोखिम न्यूनीकरणका उपकरणबिना खटिएका स्वास्थ्यकर्मी नै संक्रमणको जोखिममा छन् ।

भैरहवास्थित अध्यागमन विभागका अनुसार बेलहिया नाका हुँदै तेस्रो देश र भारतका गरी दैनिक एक हजार चार सय नागरिक नेपाल प्रवेश गर्छन् । दिल्लीबाट दैनिक ३४ बस यात्रु लिएर बुटवल आउँछन् । भारतका विभिन्न स्थानमा संक्रमित फेला परेपछि तीनै तहका सरकारले उच्च सतर्कता अपनाएका छन् । बेलहियामा स्थापना गरिएको हेल्थ डेस्कमा सिद्धार्थनगर नगरपालिकाले दैनिक ६ स्वास्थ्यकर्मी खटाएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म आलोपालो खटिन्छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाको सहयोगमा स्थानीय प्रशासनले माघ १६ देखि उनीहरूलाई खटाएको हो । उनीहरूले आवश्यक पर्ने कुनै सामग्री नपाएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख उमा थापाले बताइन् । ‘शंका लागे सामान्य सोधपुछ गर्ने हो, पहिचान गर्न सक्ने अवस्था छैन,’ उनले भनिन् । उनले दैनिक १६ घण्टा ६ जनाको टिमले काम गर्ने गरेको र राति निर्बाध विदेशी आउने गरेको बताइन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com