कोरोना संक्रमित भइहालेमा अस्पतालमै छैनन् आईसीयू



प्रकाशित मिति : Mar 08, 2020

काठमाडौँ, २५ फागुन । विश्व स्वास्थ्य संगठनले नेपाल नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको सूची सार्वजनिक गरेसँगै सरकारले अस्पताललाई आइसोलेसन वार्ड र भेन्टिलेटरसहितको आईसीयू बेड तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । तर अधिकांश अस्पतालले बेवास्ता गरेका छन् ।

आईसीयू बेड अभाव रहेको भन्दै अस्पतालहरूले आइसोलेसन वार्ड र भेन्टिलेटरसहितको आईसीयू बेड व्यवस्थापन गर्न नसकिएको बताएका छन् ।

देशकै एक मात्र सरुवा रोग अस्पतालमा तीन वटा आईसीयू बेड छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ती बेडमा हाल एचआईभीलगायत अन्य सरुवा रोगका बिरामी छन् । तत्काल कोभिड–१९ का बिरामी नदेखिएकाले आईसीयू बेड छुट्याएर नराखिएको एक चिकित्सकले बताए । ‘भोलि कुनै बिरामी कोभिड–१९ ले गम्भीर भएर आईसीयू चाहियो भने पहिलेदेखि बसेका बिरामी हटाउन मिल्छ,’ ती चिकित्सकले भने, ‘भेन्टिलेटरसहितको आईसीयू चाहिए अन्य अस्पतालमा छन् भनेर ढुक्क छौं ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार कोभिड–१९ का बिरामीमध्ये ५ प्रतिशत शिथिल हुन सक्छन् । त्यस्ता बिरामीलाई भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्छ । ‘कोभिड–१९ जस्तै आपतकालीन अवस्था वा महामारी व्यवस्थापनका लागि सबै अस्पतालले २० प्रतिशत बेड सधैं खाली राख्नुपर्छ, यो अन्तर्राष्ट्रिय मापदण्ड हो,’ उनी भन्छन् । केही अस्पतालले कोभिड–१९ का बिरामी राख्न आइसोलेसन वार्ड बनाए पनि आईसीयू बेड खाली छैनन् ।

टेकु अस्पताल अन्य अस्पतालमा रिफर गरौंला भनेर ढुक्कसाथ बसेको पनि अन्य अस्पतालले बेड छुट्याएका छैनन् । पाटन अस्पतालमा भएका ६ वटा आईसीयूले नियमित बिरामीलाई नै नपुगेको निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । ‘हामीले ६ बेडको आइसोलेसन वाड छुट्याएका छौं,’ उनले भने, ‘कोभिड–१९ का बिरामी आए पनि आईसीयूमा बसेका बिरामीलाई हटाउन सक्दैनौं ।’ भोलि भेन्टिलेटर चाहिने बिरामी आइहाले टेकु नै पठाउने उनले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com