सुन निक्षेप राखेको प्रमाणपत्रबाट पनि कर्जा पाइने



प्रकाशित मिति : Mar 07, 2020

काठमाडौँ, २४ फागुन । बैंकमा सुन निक्षेप राखेको प्रमाणपत्रबाट पनि कर्जा लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सुन निक्षेप राख्ने व्यवस्थाको कार्यविधि लागू गरी सुन निक्षेप राख्दा व्याज पाउनुका साथै प्रमाणपत्र धितो राखेर कर्जासमेत लिन सकिने व्यवस्था गरेको हो ।

कार्याविधि अनुसार तोकिएको मापदण्ड पूरा गरेको सुन मात्र बैंकहरुले निक्षेपको रुपमा ग्रहण गर्न सक्ने छन् । यसरी सुन निक्षेप लिइसकेपछि बैंकले निक्षेपकर्तालाई निक्षेपको अवधि, सुनको गुणस्तर, ब्याजदरलगायत विषय खुलाइ प्राणपत्र दिन्छन् । निक्षेपकर्ताले सोही प्रमाणपत्र धितोमा राखेर ७० प्रतिशतसम्म कर्जा लिन सकिने केन्द्रीय बैंकले जनाएको छ ।

कार्यविधिअनुसार न्यूनतम ३ वर्ष देखि अधिकतम ५ वर्षका लागि बैंकहरुमा सुन निक्षेप राख्न सकिनेछ । निक्षेप राखिएको सुनको ब्याजदर भने बैंकहरुले नै निर्धारण गर्नेछ । यसरी निर्धारण भएको ब्याजदर निक्षेपकर्तालाई त्रैमासिक रुपमा भुक्तानी दिनुपर्नेछ ।

निक्षेपकर्ताले ब्याज नगदमा वा सुनमै पनि लिन सक्ने व्यवस्था छ । तर, सुन निक्षेप लिने बैंकले यससम्बन्धी व्यवस्थाको सञ्चालक समितिमा निर्णय गराइ केन्द्रीय बैंकमा जानकारी गराएपछि मात्र काम गर्न सक्नेछन् । कार्यविधि अनुसार बैंकहरु २५ ग्राम भन्दा थोरै सुन निक्षेप लिन नसक्ने व्यवस्था गरेको छ । बैंकहरुले सुन निक्षेपको रुपमा स्वीकार गर्दा ९९५ फिटनेसको सुन मात्र लिन पाउने व्यवस्था गरेको छ ।

बैंकहरुले सुन निक्षेप राख्न आएका ग्राहकलाई सुन निक्षेप लिँदाका बखत नै आफूले जम्मा गरेको साँवा सुन र ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने यकिन गराउनु पर्छ । बैंकले सुन निक्षेप लिइसकेपछि सुनको साँवा परिमाण, सुनको शुद्धता, निक्षेपको ब्याजदर, निक्षेपको अवधि र निक्षेप अवधि पछि सावाँ तथा ब्याज सुनमा लिन चाहेको हो वा नगदमा लिन चाहेको हो सोको विवरण खुलाइ निक्षेपकर्तालाई प्रमाणपत्र दिनु पर्ने व्यवस्था छ ।

बैंकले ग्राहकबाट लिएको सुन निक्षेप सिआरआर र एसएलआरमा गणना गर्न सक्नेछन् । तर, यस प्रयोजनका लागि सिआरआरको अधिकतम २५ प्रतिशतसम्म मात्र सुनको निक्षेपको रुपमा गणना गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसरी बैंकले निक्षेप लिएको सुन परिपक्क अवधि भन्दा अघि भुक्तानी दिन पाइने छैन । ग्राहकले १० लाख रुपैयाँ भन्दा धेरैको सुन निक्षेप राख्दा स्रोत खुलाउनु पर्ने केन्द्रीय बैंकले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com