अस्तव्यस्त काठमाडाैँकाे समस्या समाधान गर्ने ‘रिसर्च फेलोसिप’मा एउटा आवेदन पनि परेन



प्रकाशित मिति : Mar 06, 2020

काठमाडाैँ, २३ फागुन । काठमाडौँ महानगरपालिकाले अस्तव्यस्त रूपमा रहेकाे यहाँकाे शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारेकाे थियाे, तर त्यसका लागि हालसम्म एउटा पनि आवेदन परेको छैन ।

कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामा नै सूचना प्रकाशित गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति तय गरेको थियाे । तर त्यसका लागि हालसम्म कुनै पनि इच्छुक अनुसन्धाताले आवेदन दिएका छैनन् ।

“यो युवा लक्षित कार्यक्रम हो, निवेदन नआउने भन्ने त हुँदैन, अन्तिममा मात्रै काम हुने प्रचलन रहेको र केही दिन अझै बाँकी रहेकाले अन्तिमसम्ममा आवेदन पक्कै आउला”, आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी गराउनुभयो ।

अनुसन्धान गर्न चाहनेले काठमाडौँको मुख्य समस्याको रुपमा रहेको दीर्घकालीन रुपमा फोहरको व्यवस्थापन, ट्राफिक जामको समस्या समाधान, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अनधिकृत बसोबास, दिगो विकासजस्ता विषयको दिगो समाधान खोज्नुपर्नेछ ।

आवेदक कम्तीमा पनि स्नातकोत्तर पास गरेकाे र सम्बन्धित विषयमा दुई वर्ष अनुसन्धानात्मक कार्य गरेकाे हुनुपर्नेछ । त्यस्ताे व्यक्तिले नयाँ तरिकाबाट समस्याको समाधान गर्ने उपायसहित कामपाको शहरी योजना आयोगमा आवेदनसहितको प्रारम्भिक प्रस्ताव पेश गर्नुपर्नेछ ।

त्यसका लागि कामपाले शुरुमा रु एक लाख ५० हजार सहयोग गर्छ भने अनुसन्धानमा आवश्यक परे अन्य सहयोग पनि गर्ने आयोगका उपाध्यक्ष बस्नेतले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com