‘विश्वलाई कोरोना भाइरसले सताएभन्दा बढी नेपालमा भ्रष्टाचारकाे भाइरसले सतायाे’



प्रकाशित मिति : Mar 06, 2020

काठमाडाैं, २३ फागुन । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नोबेल कोरोना भाइरस अर्थात (कोभिड–१९)ले जस्तै भ्रष्टाचारले नेपाललाई सताइरहेको बताउनुभएको छ ।

संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘अहिले विश्वलाई जसरी कोरोना भाइरसले सताइरहेको छ, त्याे भन्दा बढी हामीलाई भ्रष्टाचारले सताएको छ, यो पनि नेपालको एउटा कोरोना भाइरस नै हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मृत्युलाई जित्नुभए पनि भ्रष्टाचारलाई जित्न नसकेको पनि उहाँको भनाइ थियो । उहाँले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप समेत लगाउनुभयो ।

निवर्तमान सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई कारबाही हुनैपर्ने उहाँको माग छ । उहाँले भन्नुभयो, ‘नेपालमा सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भएको भ्रष्टाचार ढाकछोप गर्ने होइन । गोकुल बास्कोटालाई कारबारी हुनै पर्छ ।’

त्यस्तै नेपाली कांग्रेसकै सांसद तेजुलाल चौधरीले पनि कोरोना भाइरसभन्दा खतारनाक देशको ‘भ्रष्टाचाररूपी भाइरस’ भएको बताउनुभयो । ‘कोरोना भाइरस भन्दा खतारनाक देशको भ्रष्टाचारी भाइरसहरुले मुटु, कलेजाे र फाेक्सोको नसानसामा जनताको रगत र पसिना चुसिरहेका छन् । उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्यको चिन्तासँगै आफूलाई देशको जनताको चिन्ता लागेको पनि उहाँले बताउनुभयो ।

शरीरको अंग काम नलाग्ने भएपछि फेरेजस्तैगरी आफ्नो आसेपासे भ्रष्टाचारीहरुलाई फेरेर कारबाही गर्न पनि उहाँले माग गर्नुभयो । साथै उहाँले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग समेत र्गनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com