कालापानीबाट भारतीय सेना हटाउने र कोरोनाविरुद्ध एकजुट हुने प्रस्ताव संसदमा पेश हुँदै



प्रकाशित मिति : Mar 06, 2020

काठमाडौं, २३ फागुन । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठकमा आज ११ बजे बस्दैछ ।

आजको बैठकमा भारतको अतिक्रमणमा परेको कालापानीबारे संकल्प प्रस्ताव पेश हुने संसद सचिवालयले जनाएको छ । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले कालापानीबाट भारतीय सेना हटाउने विषयको संकल्प प्रस्ताव पेश गर्ने र सांसद रामकुमारी झाँक्रीले समर्थन गर्ने कार्यसूची रहेको छ ।

“भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र
समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भुभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले” भन्ने विषयको सो संकल्प प्रस्ताव सचिवालयमा दर्ता भएको छ ।

आजको बैठकमा विश्वव्यापी बनिरहेको कोरोना भाइरसविरुद्ध पनि राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने विषयमा ‘जरुरी सार्वजनिक महत्व’को प्रस्ताव पेश हुने सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सो जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने र सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्ने कार्यसूची रहेको छ ।

“विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा
सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव सचिवालयमा दर्ता भएकाे छ ।

अन्य प्रस्ताव

यससँगै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री लेखराज भट्टले “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेकाे छ ।

यसैगरी प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीको तर्फबाट “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गरिने कार्यसूची समेत रहेको छ ।

साथै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले तीनवटा प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । जसमा, “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्”, “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” र “नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com