पोखरामा मास्कको चरम अभाव, सय रुपैयाँको मास्कलाई ४५० रुपैयाँमा विक्री गर्दै व्यापारी



प्रकाशित मिति : Mar 05, 2020
  • उत्तम पौडेल,

पोखरा, २२ फागुन । कोरोनाको प्रभाव बढिरेको समयमा पोखरामा मास्कको अभाव बढ्दै गएको छ । दैनिक मास्क खोज्न आउनेहरुको संख्या बढ्दै जानु र मास्क नपाइनुले स्थानीय चिन्तित बनेका छन् ।

कोरोनाको त्रास बढेको समयमा मास्क नपाइनु तथा पाइएमा बढी पैसा तिर्नुपर्दा स्थानीय मारमा परेका छन् ।

हाल पोखराका अधिकांश औषधि पसल तथा मेडिकलहरुमा मास्क पाइँदैन । गण्डकी प्रदेश अनुगमन समिति तथा सामान्य बिकास मन्त्रालयले आज पोखराका विभिन्न औषधि पसलमा अनुगमन गरेको छ ।

मन्त्रालयले केही औषधि पसल बन्द गरेर अनुसन्धान अगाडि बढाएको छ, भने केही पसलबाट सामान जफत गरेको छ । पोखराका अधिकांश पसलहरुमा मास्कको अभाव भएता पनि केही पसलहरुले कृतिम अभाव देखाएका छन् ।

पसलमा मास्क किन्न आएकाहरुलाई मास्क हुँदाहुँदै पनि बिक्री नगर्ने र बिक्री गर्दा बढी मूल्य असुलिरहेका फेला परेको छ । स्थानीय व्यवसायीहरुले खरिद गर्दा बढी परेका कारण बिक्री मूल्य पनि बढाइएको जिकिर गरिरहेका छन् । तर, उनीहरुले खरीद बिल भने देखाउन सकेनन् ।

पोखराको हस्पिटल चोकमा रहेको परी फार्मेसीमा १० रुपैयाँ पर्ने मास्कलाई ३० रुपैया लिएर बेच्दै गरेको पाइएको छ । त्यस्तै महेन्द्रपुलको मेडिकल लाइनमा रहेको स्याङ्जा औषधि पसलमा १०० रुपैया पर्ने मास्कलाई ४५० रुपैयामा बेच्ने गरेको पाइएको छ ।

यस्तै, अधिकांश पसलहरुमा १० को मास्कलाई अनुकुल र ग्राहक हेरेर २० देखि ८० रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको छ । यसरी बढी मूल्य असुलेर मास्क बेचिरहेका पसलहरुबाट सामान जफत गरी पत्र काटिएको छ ।

साथै, उनीहरुलाई कालोबजारी ऐन २०३२ बमोजिम कारवाही गरिने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

पोखरामा ३०० रुपैयाँ बट्टा पर्ने मास्क यतिबेला १५ सय रुपैयाँमा बिक्री भइरहेको पाइएको छ । एकातिर स्थानीय प्रशासनले भेला भएर गरिने कार्यक्रमहरु नगर्न आग्रह गरिरहेको छ, भने अर्कातर्फ मास्कको अभावले पोखरेलीहरु मारमा परिरहेका छन् ।

यसैबीच, उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्माले आजको अनुगमनबाट कालोबजारी गरिरहेका केही व्यापारीलाई कारवाहीको दायरामा ल्याइएको बताए ।

शर्माले कालोबजारी गर्ने ब्यापारीलाई कानून अनुसार कारबाही गरिने तथा अनुगमनको कार्यलाई निरन्तरता दिइने बताए ।

अनुगमन टोलीमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद विन्दु शर्मा, स्वास्थ्य महाशाखा प्रमुख शम्भू ज्ञवाली, प्रदेश अनुगमन समितिका सदस्य सचिव भरतमणी बराल, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, सामाजिक बिकास मन्त्रालयका प्रतिनिधि प्रकाश पौडेललगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com