प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था खतरामुक्त



प्रकाशित मिति : Mar 05, 2020

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको छ। ६९ वर्षीय ओलीको त्रिवि शिक्षण अस्पतालमा झन्डै पाँच घण्टा लगाएर सफल प्रत्यारोपण गरिएको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको बताए। प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी हुन्। ३२ वर्षीया संग्रौलाको स्वास्थ्य स्थिति सामान्य रहेको निर्देशक डा. खड्गाले जानकारी दिए।

ओलीको ०६४ सालमा पहिलोपटक भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई सोमबार साँझ अस्पताल भर्ना गरिएको थियो। संग्रौलाको बायाँ मिर्गौला झिकेर ओलीलाई बायाँपट्टि प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने ओली नवौं व्यक्ति हुन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर छ। उनलाई शल्यक्रिया गरेको झन्डै एक घण्टापछि अति सघन उपचार कक्ष (आईसीयूमा) मा सारिएको थियो। कार्यकारी निर्देशक खडगाले भने, ‘सबै स्वास्थ्य सूचकांक राम्रो अवस्थामा छन्।’ प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण कक्षमा राखी उपचारलाई निरन्तरता दिइने डा. खड्गाले जानकारी दिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com