सफलतापूर्वक प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण, नयाँ मिर्गौलाले काम गर्न थाल्यो



प्रकाशित मिति : Mar 04, 2020

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ । भान्जी नाता पर्ने समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको हो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गरेको थियो ।

नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको प्रा. डा. प्रेमराज ज्ञवालीले बताउनुभएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । त्रिवि अस्पतालका अनुसार २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना फिजिसियनसमेत सहभागी भएका हुन् ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भएका भारतीय चिकित्सक अनन्त कुमार यसअघि नै काठमाडौं आएका थिए । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्रिवि शिक्षण अस्पतालको एनेक्स मेडिकल वार्डमा प्रधानमन्त्री ओलीलाई राखिएको छ । अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । अस्पतालका छतमासमेत सुरक्षाकर्मी तैनाथ छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए।त्यहाँ उनले ’प्लाज्माफेरेसिस’ गरिएको थियो । त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए । त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com