प्रदेश १ मा कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न प्रमुख नाकाहरुमा चेकजाँचको व्यवस्था मिलाइने



प्रकाशित मिति : Mar 04, 2020
  • तारा आचार्य

विराटनगर, २१ फागुन । विश्वनै आक्रान्त भइरहेको बेला प्रदेश नं. १ मा कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न प्रमुख नाकाहरुमा चेकजाँचको व्यवस्था मिलाइने भएको छ ।

विराटनगर स्थित सामाजिक विकास मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा वुधवार बसेको प्राविधिक समितिको बैठकले सिमानाकामा चेकजाँच, ६ वटा प्रमुख अस्पतालमा आईसोलेसन वार्ड स्थापना लगायत निर्णय गरेको छ ।

यसैगरी कोरोना भाईरस संक्रमित विरामी आएमा उपचारका लागि विशेष व्यवस्था गर्ने र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि चाहिने व्यक्तिगत सुरक्षा सामग्री अस्पतालले नै खरिद गर्ने निर्णय गरिएको छ । मुलुक भित्रै कोरोना भाईरसको संक्रमित हुने सम्भावना कम भएको र विदेशबाट आउनेहरुबाट संक्रमण हुन नदिन प्रदेश नं. १ को प्रमुख ४ नाकाहरु इलामको पशुपतिनगर, झापाको काकडभिट्ठा र भद्रपुर तथा विराटनगरको रानी नाकामा हेल्थ डेक्स राखेर चेकजाँच गर्ने निर्णय गरिएको हो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले मुलुक उच्चजोखिममा भएपनि अनावश्यक त्रास फैलाउने कार्य भईरहेको प्रति सचेत हुन आग्रह गर्नुभयो । उहाँले संक्रमण फैलिन नदिन सिमानाकालाई व्यवस्थित गर्ने तथा संक्रमणबाट जोगिन जनचेतना र जनजागरण अभियान सञ्चालन गरिने बताउनु भयो ।

प्रदेश नं. १ सरकारले संक्रमितहरुलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल, नोबेल अस्पताल, विराट मेडिकल कलेज, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको मेची अस्पताल, बि एण्ड सि अस्पतालमा २८ वटा शैया व्यवस्थापन गरिएको छ । सो कार्यक्रममा स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, विभिन्न अस्पतालका डाक्टरहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com