छोराछोरीबीचको शैक्षिक शैक्षिक विभेद हटाउन आकर्षक योजना



प्रकाशित मिति : Mar 04, 2020

भैरहवा, २१ फागुन । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् ।

मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई पनि छोरासरह शिक्षा दिलाउन गाउँपालिकाले यस्तो घोषणा गरेको हो ।

अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कार स्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताउनुभयो । सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह, दाइजो प्रथाका कारण छोरीले बीचमै पढाइ छोड्ने अवस्था रहेकाले गाउँपालिकाले यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।

“छोरी बचाऔँ, छोरी पढाऔँ” योजनासहित एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरिएको अध्यक्ष बानियाँले जानकारी दिनुभयो । उहाँले छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com