कर बुझाउन तुलसीपुर धाउनुपर्ने अवस्थाको अन्त्य भएपछि सल्यानबासी खुसी



प्रकाशित मिति : Mar 02, 2020

सल्यान, १९ फागुन । संघीय संरचनाको आफ्नै गाउँमा सरकारी सेवा पाउने अवधारणा हो । मुलुक संघीयतामा गएपछि सबैले सहज सेवा पाउने विश्वास लिएका थिए । तर, सल्यानबासीले सहज सेवा पाउन २ वर्ष पर्खिनुपर्यो । अर्थात कर तिर्न अर्को प्रदेशमा पुग्नुपथ्र्यो ।

सल्यान कर्णाली प्रदेशमा पर्छ । तर, कर बुझाउन प्रदेश पाँचको दाङ तुलसीपुर धाउनुपर्ने अवस्थाको अन्त्य भएपछि उद्यमी, व्यवसायीले राहत पाएका छन् । अहिले सल्यान जिल्लामा कर संकलन कार्यालय स्थापना भएको छ ।

कर बुझाउन एउटा प्रदेशबाट अर्को प्रदेश धाउनुपर्ने बाध्यता रहँदै आएको सल्यानका उद्यमी, व्यवसायीले बल्ल राहत पाएका छन् । कर बुझाउन, फारम लिन प्रदेश नम्बर ५ को तुल्सीपुर नै धाउनु पर्ने बाध्यताबाट सल्यान जिल्लाका ब्यापारी व्यवसायीले छुटकारा पाउने भएका छन ।

सल्यानमै यस्तो सुबिधा हुनेभए पछि समयको पनि बचत हुने भन्दै स्थानीय व्यवसायी तथा ब्यापारीहरु हर्षित देखिएका छन ।

पछिल्लो समय सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, तुलसीपुरका प्रमुख कर अधिकृत लिला प्रसाद शर्मा र उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष वीरबहादुर चलाउने सहितको टोलीले गरेको छलफल पछि फागुन महिनादेखी नै सल्यानबाटै यस्तो सेवा प्रवाह गरिने भएको छ ।

जिल्लामा रहेका उद्यमी तथा ब्यबसायीहरुको समस्यालाई ध्यानमा राखेर जिल्लामा नै कर कार्यालय स्थापना गर्न लागिएको हो ।

फागुन महिनाको अन्तिम सातासम्ममा सल्यान जिल्लाबाट नै सेवा प्रवाह गर्ने गरी कामको थालनी गरिएको कर कार्यालय दाङ्ग तुलसीपुरले जनाएको छ । स्थापना हुने कर कार्यालयमा एक जना कर अधिकृत सहित नायव सुब्बा, खरिदार, कम्युटर अपरेटर सहितका कर्मचारी हुने जनाइएको छ ।

यसरी सल्यानमा कर कार्यालय स्थापना भएपछि रुकुम जिल्ला र रोल्पाका केही भागका जनतालाई समेत सहज हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com