कर्णालीले सवाल मात्र होइन जवाफ दिनुपर्ने बेला आएको छ : मन्त्री बस्नेत



प्रकाशित मिति : Mar 02, 2020

सुर्खेत, १९ फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय राज्य व्यवस्थामा कर्णालीले सवाल उठान मात्र नभई जवाफ पनि दिनुपर्ने बेला आएको बताउनुभएको छ ।

कर्णाली उत्सव मूल आयोजक समितिद्वारा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आयोजित ‘कर्णाली उत्सव’ को उद्घाटन गर्दै वनमन्त्री बस्नेतले विगतमा सिंहदरबारलाई प्रश्न मात्र गर्ने कर्णाली अब आफैले जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

“सुर्खेतबाट व्यवस्थापन हुनेगरी प्रदेश सरकार सञ्चालन भइरहेको छ, गाउँगाउँमा स्थानीय सरकार छन्, बजेट र अधिकारको ठूलो हिस्सा कर्णालीमै केन्द्रित छ”, उहाँले भन्नुभयो, “अब कर्णालीले सिंहदरबारलाई प्रश्न, गुनासो मात्र होइन, स्वयंले जनतालाई जवाफ दिनुपर्ने बेला पनि आएको छ ।”

उहाँले प्रदेश र स्थानीय सरकारले कर्णालीका सम्भावनालाई सदुपयोग गरेर विकास र समृद्धिको यात्रा थालनी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले सिंहदरबारलाई प्रश्नसँगै कर्णालीले यहाँका कतिपय सवालको जवाफ दिने हैसियत कायम राखेको बताउनुभयो ।

“नेपाल एकीकरणपछि न कर्णाली एकीकृत राज्य व्यवस्थामा जान सक्यो नत कर्णाली सबल प्रतिपक्षी”, उहाँले थप्नुभयो, “इतिहासमा कर्णाली सधैँ कुण्ठित रहेपनि वर्तमान नेपालमा भने राज्यको संस्थापन पक्षमा कर्णालीको पहुँच बढ्दै गएको छ । कर्णालीले सिंहदरबारमा ‘स्थान’ पाउन थालेको छ, परिवर्तनमा कर्णालीवासीको त्याग, समर्पणकै कारण केन्द्रीय राजनीतिमा आफ्नो पहुँच विस्तार गर्दै लगेको छ ।”परिस्थितिमा बदलाब आएको बताउनुभएका वनमन्त्री बस्नेतले कर्णालीले विकास र समृद्धिको आकार लिन थालेको भन्दै कतिपय ठूला विकास आयोजना सञ्चालन भएको र केही सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली, भेरी मध्य र राप्ती करिडरका रुपमा कर्णालीलाई उत्तर दक्षिण जोड्ने काम पनि अघि बढी व्यापारिक मार्ग पनि विकसित हुँदै गएका छन् भने जनतालाई पर्यटन व्यवसायका साथै आयआर्जनसँग जोड्न कर्णाली जडिबुटी विकास कार्यक्रम शुरु गरिएको छ ।

‘कुडा कर्णाली’ मुख्य नारासहित सञ्चालित बहस कार्यक्रमको शुभारम्भमा कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘कर्णाली चिनौँ’ शीर्षकमा विद्धत प्रवचन दिनुभएको थियो । उहाँले रोग, भोक र अभावको पर्यायका रुपमा चित्रित कर्णाली तर प्रचुर सम्भावनायुक्त प्रदेश भएको दाबी गर्नुभयो ।

“यहाँका जङ्गलमा हरियो डलर कुहिरहेको छ, कर्णाली, भेरी, राप्ती र तिला जस्ता नदीमा डलर बगिरहेको छ”, उहाँले भन्नुभयो, “रारा र फोक्सुण्डो जस्ता प्रकृतिका अमूल्य उपहारको पिँधमा डलर थेग्रिएको छ, यसमा राज्यले ध्यान दिन सकेको छैन ।”

कर्णालीको गर्भमा रहेका असीमित सम्भावनालाई पूर्ण उपयोग गर्ने हो भने कर्णाली नेपालको स्वीट्जरल्याण्डमा अनुवाद हुने निश्चित भएको मन्त्री भण्डारीको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, “विकासका प्रतिफलहरुको न्यायोचित वितरण हुने समाजवादी विकास मोडल चाहिएको छ, हरेक प्रतिभालाई विकासको समान अवसर दिने राज्य व्यवस्था हाम्रो आवश्यकता हो ।”


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com