१८ वटा रुपान्तरणकारी योजनासहित पन्ध्रौँ आयोजना स्वीकृत



प्रकाशित मिति : Mar 02, 2020

काठमाडौं, १९ फागुन । सरकारले १८ वटा रुपान्तरणकारी (गेम चेन्जर) योजनासहित पन्ध्रौँ आयोजना स्वीकृत गरेको छ ।

राष्ट्रिय योजना आयोगले लामो समय लगाएर तयार पारेको दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका आयोजनालाई प्रधानमन्त्रीले स्वीकृत गर्नुभएको हो । विभिन्न क्षेत्रसँग छलफल गरी क्षेत्रगत योजनाको अवधारणालाई आधार बनाएर ल्याइएका आयोजनाले समृद्धि र सुखको आधार तय गर्ने सरकारले विश्वास लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगकोे बैठकले गेम चेन्जरका रुपमा लिइएको १८ वटा रुपमान्तरणकारी आयोजनालाई पन्ध्रौं योजनामा समावेश गरी कार्यान्वयनमा ल्याएको छ ।

यस्ता आयोजना खासगरी आर्थिक वृद्धिको पथ परिवर्तन गर्ने आयोजनालाई मानिन्छ । आयोजनामा लगानी प्रवद्र्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन र गरिबी तथा असमानता न्युनीकरण गर्ने परियोजना मुख्य प्राथमिकतामा रहने गर्दछन् । राष्ट्रिय गौरवमा नपरेका तर कतिपय राष्ट्रिय गौरवका योजना भन्दा महत्वपूर्ण आयोजनालाई रुपान्तरणकारी आयोजनामा समावेश गरिएको छ ।

रुपान्तरणकारी आयोजनामा समावेश भएका कार्यक्रम :

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
समृद्धिका लागि वन कार्यक्रम
जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम
औद्योगिक पूर्वाधार विकास आयोजना
स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना
सार्वजनिक विद्यालय सबलीकरण आयोजना
प्राविधिक तथा व्यवसायिक शिक्ष एवम् तालिम आयोजना
राष्ट्रपति महिला सशक्तीकरण परियोजना
माथिल्लो अरुण जलविद्युत आयोजना
राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना
पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना
गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजना
प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम
नयाँ शहर विकास आयोजना
शहरी करिडोर आयोजना
– डिजिटल नेपाल
– र, राष्ट्रिय परिचय पत्र तथा घटना दर्ता कार्यक्रम

आयोगले राष्ट्रिय गौरवका आयोजनामा २२ वटा आयोजना र उच्च प्राथमिकता आयोजनामा १ सय १७ अयोजनालाई १५ औं योजनामा समावेश गरेको छ । समृद्धिको आधार निर्माण गर्ने, नागरिकलाई परिष्कृत र मर्यादित जीवनयापनको अनुभूति गराउने र देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्ने लक्ष्य १५ औं योजनाको छ । सरकारले स्वीकृत गरेसँगै तोकिएका राष्ट्रिय गौरव, रुपान्तरणकारी आयोजना र उच्च प्राथमिकतामा राखेर आयोजनाहरुलाई कार्यान्वयन गर्ने पनि बाटो खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com