चीन र काेरियाबाट फर्किएका पाँच नेपालीमा काेराेनाकाे आशंका



प्रकाशित मिति : Mar 02, 2020

काठमाडौँ, १९ फागुन । काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोना भाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएका छन् ।

चीन र दक्षिण कोरियाबाट फर्किएका ती व्यक्तिमा काेराेनासंग मिल्दा जुल्दा लक्षणा देखिएकाे हाे । उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएका अस्पताल स्रोतले जनाएको छ । उनीहरू शङ्कास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको हो ।

सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सचेतना अभियान अघि बढाउनुका साथै थप सतर्कताका उपाय अवलम्बन गर्न लागेको छ ।

नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । तर त्यसपछि अरू कसैमा पनि सङ्क्रमण देखिएको छैन ।

अहिलेसम्म टेकुमा रहेको सरुवा रोग अस्पतालमा मात्रै कोभिड:१९ भएको परीक्षण गर्ने प्रयोगशाला छ । अस्पतालका अनुसार, चीन र कोरियाबाट आएका व्यक्तिहरूमा केही लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।

जन स्वास्थ्य विज्ञहरूले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि सामाजिक क्रियाकलापबाट आफूलाई अलग राख्न र घरमा पनि एक्लै बस्न सुझाव दिँदै आएका छन् ।

कोरोना भाइरसका कारण चीनसहित ११ देशमा मृत्यु हुने मानिसको सङ्ख्या ३,००० भन्दा बढी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com