‘सगरमाथा संवाद’ स्थगित : मन्त्री ज्ञवाली



प्रकाशित मिति : Mar 02, 2020

१९ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ कार्यक्रम स्थगित गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी सगरमाथा संवाद स्थगित भएकाे जानकारी गराउनु भएको हो । मन्त्रालयले चैत २० देखि २२ सम्म काठमाडौंमा आयोजना गर्न लागेको संवादमा करिब १ सय ५० विदेशीसहित २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको थियो।

सरकारले आफ्ना उपलब्धिहरु विश्वलाई सुनाउने उद्देश्यका साथ हरेक दुई वर्षमा गर्ने गरी ‘सगरमाथा संवाद’को अवधारणा अघि सारेको थियो ।

यसैबीच सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणको योजना तत्काललाई स्थगित गर्न अपिल गरेको छ । कोरोना भाइरसको प्रभाव विश्वभर तीब्ररुपमा फैलिन थालेपछि सरकारले आफ्ना नागरिकको नाममा ट्राभल एड्भाइजरी जारी गर्दै विदेश भ्रमण नगर्न सुझाएको हो ।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री ज्ञवालीले कोरोना भाइरसको गम्भीर प्रभाव देखिएका मुलुकहरुमा भने अत्यावश्यक काम परेको खण्डमा बाहेक नजान आग्रह गर्नुभयो ।

यसैगरी सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न समेत सुझाव दिएको छ । दक्षिण कोरियामा इपीएल प्रणालीबाट कामदार नपठाउने निर्णय सरकारले गरेको जानकारी दिदै उहाँले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर वितरणमा रोक लगाइएको समेत बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com