विमानस्थलमा पूर्व-राजारानीको काेराेना जाँच, आजबाट सबै हवाईयात्रुको तापक्रम जाँज्न सुरु



प्रकाशित मिति : Mar 02, 2020

काठामाडौँ, १९ फागुन । सम्भावित कोरोना भाइरस चेकजाँच गर्ने क्रममा पूर्व-राजारानी ज्ञानेन्द्र शाह र कोमल शाहलाई विमानस्थलमा शरीरकाे तापमान जाँच गरिएको छ । भारत भ्रमणबाट फर्किनुभएका पूर्व-राजारानीको त्रिभुवन विमानस्थलमा आइतबार तापमान लिइएको हो ।

आज (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक एवं बाह्य सबै हवाईयात्रुमाथि कोरोना जाँच र निगरानी सुरू गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले सबै यात्रुमाथि चेकजाँच र निगरानी गर्न निर्देशन दिएसँगै सबै यात्रुकाे शरीरकाे तापक्रम जाँच्न सुरू गरिएकाे हाे ।

यसै क्रममा पूर्व-राजारानीको पनि तापक्रम चेकजाँच गरिएको हो । चेकजाँचमा उहाँ दुवैको शरीरको तापक्रम सामान्य रहेको रेकर्ड भएको छ ।

विमानस्थलका एक कर्मचारीले उहाँको शरीरको तापमान लिँदाको भिडियो खिचेका छन्, जसमा विमानस्थलमा कोरोना परीक्षण गर्न बसेका एक कर्मचारीले सुरुमा ‘सरकार, टेम्परेचर !’ भनेको सुनिन्छ । पूर्वराजा ज्ञानेन्द्रले पनि मुसुक्क हाँस्दै जाँच गर्न मञ्जुरी दिएसँगै शरीरको तापमान जाँचेको देखिन्छ । लगत्तै पूर्वरानी कोमलको पनि तापमान जाँच गरेको दृश्य भिडियोमा देखिएको छ ।

विमानस्थलमा यसरी पूर्व राजारानीको शरीरको तापमान नापिरहेको भिडियो नेपाल वायुसेवा निगमका अध्यक्ष केदार बहादुर अधिकारीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले चेतावनी जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको सम्भावित संक्रमण रोक्न उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको हो । सोपछि आजबाट विमानस्थलमा सबै यात्रुको शरीरको तापक्रम जाँच गर्न थालिएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com