समाजका कुरीति र एसिड प्रहार जस्ता आपराधिक कार्य अन्त्यका लागि कानूनी कारवाहीको माग



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । प्रतिनिधिसभाका सांसदहरुले बोक्सा–बोक्सी, दाइजो लगायतका कुरिती र एसिड प्रहार जस्ता आपराधिक कार्य अन्त्यका लागि कानूनी कारवाहीको माग गरेका छन् ।

आज बसेको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले दाइजो र एसिड प्रहार जस्ता अपराध गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् ।

सांसद विन्दा पाण्डेले ‘बोक्सा-बोक्सी, दाइजो लगायतका कुरिती र एसिड प्रहार जस्ता आपराधिक कार्यलाई रोक्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको थियो ।

प्रस्ताव दर्ता गर्दै सांसद पाण्डेले कानूनले दाइजोलाई अपराधिकरण गरेपनि दाइजोको नाममा गतवर्ष मात्रै १३ जनाले महिलाले ज्यान गुमाउनुपरेको बताउनुभयो । प्रस्तावको समर्थन गर्दै सांसद नवराज सिलवालले कानून निर्माण भएपनि व्यवहारिक रुपमा प्रयोगमा आउन नसकेको बताउनुभयो ।

संसदले कानून निर्माण गर्ने मात्रै नभएर राज्यले सहि रुपमा कार्यान्वयन गर÷नगरेको कुराको अनुगमन गर्नुपर्ने पनि उहाँले बताउनुभयो । जरुरी महत्वको प्रस्तावमाथिको छलफमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले त्रृटीपूर्ण सामाजिक मुल्यमान्यताहरुले स्थापित गरेका प्रथाहरु जीवित रहेकाले कानूनले समेत त्यसको अन्त्य गर्न नसकेको बताउनुभयो ।

यस्तै, सांसद डिला संग्रौलाले महिला हिंसा विरुद्धका दिवस नजिकिने समयमा मात्रै यस्ता कुराहरु बहसमा आउने र कानून कार्यान्वयनमा गम्भिर हुन नसक्दा घटनामा कमि आउन नसकेको बताउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com