लक्जम्बर्गले गर्‍याे सार्वजनिक यातायात नि:शुल्क



प्रकाशित मिति : Mar 01, 2020

एजेन्सी, १८ फागुन । युरोपको सुन्दर र धनी लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश बनेको छ । २०२० मार्च १० देखि लागू हुने सो व्यवस्था गरिएको हो । सर्वसाधारणले देशैभर सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने भएका हुन् ।

लक्जम्बर्गका यातायातमन्त्री फ्रान्कोइस बऊसले आइतबार लक्जम्बर्गबासीको खुशीको दिन भएको आफ्नो घोषणा सन्देशमा बताएका छन् । लक्जम्बर्गको राष्ट्रिय रेल सेवाका प्रथम श्रेणी र केही रात्रिकालिन बस सेवामा बाहेक अन्य सम्पूर्ण ट्राम, बस र रेल सेवा लगायतमा यो सुविधा प्रदान गरिने भएको हो ।

यहाँको जनसंख्या ६ लाख १४ हजार मात्र छ । लक्जम्बर्ग संसारमै शान्त, सम्पन्न र धनी देशको रूपमा चिनिन्छ । श्रमिक र आफ्ना नागरिकले प्रयोग गर्ने निजी कार र त्यसबाट हुने ट्राफिक समस्याका साथै प्रदुषण घटाउन सार्वजनिक यातायात प्रयोगमा आकर्षण बढाउनका लागि यहाँको सरकारले यो योजना ल्याएको हो ।

यो नियमसँगै यातायात कम्पनीलाई हुने करिब ४१ मिलियन युरो घाटा सरकारले राजस्वबाट प्राप्त रकमले क्षतिपूर्ति गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com