परिक्रमा मिथिलाको मात्र नभएर नेपालकै कुम्भ हो : पर्यटनमन्त्री भट्टराई (फोटो फिचर)



प्रकाशित मिति : Mar 01, 2020
  • घनश्याम मिश्र,

जनकपुर, १८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १५ दिने वृहत् मिथिला परिक्रमा क्षेत्रको विकासको लागि संघीय सरकार सधै सकारात्मक रहेको बताउनु भएको छ ।

आइतबार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ को कञ्चनवनमा उपस्थित हजारौं परिक्रमावासीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले परिक्रमा क्षेत्रको विकासका लागि स्थानीय र प्रदेश सरकारले आफ्नो मन्त्रालयलाई योजना बनाएर बुझाउन समेत आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, ’यो परिक्रमा मिथिला मात्रको नभइ नेपालको नै कुम्भ हो ।’

मन्त्री भट्टराईले चुनावको बेला मात्र पार्टी हुने अन्य बेला सबै नेपाली नै रहने भएकोले सबै मिलेर यो ऐतिहासिक र विश्वकै सबैभन्दा ठूलो धार्मिक १५ दिने पदयात्रालाई व्यवस्थित गर्न ध्यान दिनु पर्ने बताउनुभयो ।

उहाँले आफू मैथिली बोल्न न जाने पनि मैथिली सबै बुझ्ने गरेको जिकिर गर्दै राम र सीताले होली खेलेको स्थानमा आएर होली उत्सव मनाउन पाउँदा धन्य भएको समेत बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री रामनरेश रायले जनकपुरधाम क्षेत्रको धार्मिक पर्यटन विकासको लागि निकै महत्वपूर्ण संस्था वृहत्तर जनकपुर क्षेत्र विकास परिषदलाई स्थानीय तह अन्तर्गत ल्याउनु पर्ने माग गर्नु भयो ।

उहाँले परिषद्लाई स्थानीय तह मातहतबाट हटाएर केन्द्रीय सरकारको संस्कृति मन्त्रालय अन्तर्गत राखेको हुनाले जनकपुरका स्थानीयवासीमा नकारात्मक असर परेको र यसलाई पुनः प्रदेश सरकारको मातहत मैं फर्काउनु पर्ने माग राख्नुभयो ।

उहाँले मन्त्री भट्टराईलाई उपस्थित हजारौं श्रद्धालुलाई देखाउदै आन्तरिक र वाह्य पर्यटकलाई नेपाल र मिथिला परिक्रमामा ल्याउन संघीय सरकारले विशेष प्याकेजको व्यस्थापन गर्न आग्रह समेत गर्नुभयो ।

होलीको रंगमा रंगिएको कञ्चनवन :

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आइतबार कञ्चनवन पुगेको छ । शनिवार महोत्तरीको ध्रुवकुण्डमा बास बसेका परिक्रमा यात्री आइतबार दिउँसो महोत्तरीको भंगहा नगरपालिका–८स्थित कञ्चनवन आइपुगेको हो ।

कञ्चनवन आएका परिक्रमा यात्रीलाई भंगहा नगरपालिका लगायत स्थानीयहरुले भव्य स्वागत गरेका छन् । भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले परिक्रमा सहभागी साधुसन्तलाई फुलमाला र अविर लगाइ स्वागत गरेका छन् ।

अहिले परिक्रमामा सहभागीहरु एकअर्कालाई रंग अविर लगाइ होली खेल्दै नाँचगान गरी रमाइरहेका छन् । कञ्चनवनमा त्रेतायुगमा भगवान राम सीताले होली खेलेको धार्मिक विश्वास छ ।

सोही अनुसार यहाँ मिथिला परिक्रमा आइपुगेपछि होली खेल्ने परम्परा छ । यहाँ होली खेलेपछि मिथिलाञ्चल लगायत तराई मधेशमा विधिवत होली पर्व सुरुवात हुने गर्दछ ।

आइतबार परिक्रमा यात्रु कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचामा बाँस बस्छन् । यो परिक्रमाको आठौ विश्रामस्थल हो ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट धनुषाको कचुरी स्थित मिथिलाविहारी मन्दिरबाट सुरु हुने महाकुम्भ परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर अन्तरगृह परिक्रमा गरि फागु पूर्णिमाको दिन सम्पन्न हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com