माइभ्याली गोल्डकप : संकटा क्लबलाई २-१ ले हराउँदै आर्मी सेमिफाइनलमा



प्रकाशित मिति : Mar 01, 2020
  • विनय तिम्सीना,

इलाम, १८ फागुन । इलामको ठूलो टुँडिखेलमा जारी छैटौ संस्करणको माइभ्याली गोल्डकपको आज (आइतबार) भएको खेलमा त्रिभुवन आर्मी विजयी भएको छ ।

संकटा क्लबलाई २–१ ले हराउँदै आर्मीले जित निकालेको हो । आफ्ना स्टार खेलाडी विना मैदानमा उत्रेको आर्मीले संकटासँग संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीको जितको लागि सुदिल राईले दुई गोल गरेका थिए । खेलको पहिलो हाफको ७ औं मिनेटमा विबेक बस्नेतले गरेको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठबाट रिबाउन्स आएको बललाई आर्मीका सुदिलले सहज गोल निकालेका थिए ।

तर, आर्मीको अग्रता खेल सुरुवातीमा लिएको अग्रतालाई संकटाले खेलको ४१ औँ मिनेटमा डेडी आम्बाको गोलमा बराबरमा ल्यायो ।

त्यस्तै खेलको दोस्रो हाफमा आर्मीले संकटालाई दबाबमा राख्न सफल भयो । खेलको ८२ औँ मिनेटमा बिबेक बस्नेतको क्रसमा सुदिल राईले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका हुन् ।

आजको खेलमा सुदिल राई म्यान अफ द म्याच घोषित भए । उनले दश हजार नगद र ट्रफी पाए । भोलिको खेल शहीद स्मारक लिग विजेता मच्छिन्द्र क्लब र गोर्खा ब्वाइज रुपन्देहीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले आठलाख नगद र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले ६ लाख नगद तथा प्रत्येक खेलको म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्टलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com