संविधान बाहिर गएर दाँयाबाँया नगर्न स्थानीय तहलाई कानूनमन्त्री तुम्बाहाम्फेको आग्रह
- तारा आचार्य,
विराटनगर, १८ फागुन । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले पछिल्लो समय विकास गरिएको योजना तर्जुमा, अनुगमन तथा न्याय सम्पादन बारे जानकारी दिन स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुलाई तीन दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
धेरैजसो स्थानीय तहबाट सम्पादन भएका न्यायिक कार्यहरु एकरुपता नआइरहेको बेला स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका लागि सो तीन दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधानमा व्यवस्था भए बमोजिम संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले संविधानमा उल्लेख भए बाहेक दाँया बाँया काम नगर्न आग्रह गर्नुभयो । उहाँले न्याय दिने कुरामा सबै स्थानीय तहहरुबीच एकरुपता आउनु पर्ने बताउदै न्यायिक क्षेत्रमा प्रमुखहरुको भन्दा उपप्रमुखहरुको अलग जिम्मेवारी भएकाले क्षमता विकास आवश्यक भएको बताउनु भयो ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको योजना तर्जुमा, राजश्व, अनुगमन तथा न्यायिक प्रशिक्षण कार्यक्रममा प्रदेश नं.१ का नगरपालिकाका उपप्रमुख र गाँउपालिकाका उपाध्यक्षहरुको उपस्थिति रहेको छ ।