मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिए



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले केही दिन अघि राजीनामा दिएपछि राजा अब्दुल्लाह अफ पहाङले यासिनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

मलेसियाको राजनीतिमा कमै चिनिएका यासिनले नयाँ गठबन्धनको नेतृत्व गरी सरकार गठन गरेका हुन् ।

सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी ’प्याक्ट अफ होप’ नामको गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै कारण उनले राजीनामा दिएका थिए ।

विवाद समाधान गर्नुको साटो प्रधानमन्त्रीको पदबाटै राजीनामा दिएका महाथिरले सर्वपक्षीय सरकार गठन गर्ने प्रयास गरेका थिए ।

तर महाथिरको त्यो प्रयास विफल भएको थियो । पूर्व प्रधानमन्त्री महाथिरले भने वर्तमान सरकारको गठन अवैधानिक रहेको दाबी गरेका छन् ।

मोहिउद्दीनको सपथग्रहण समारोह हुनुअघि महाथिरले उनीमाथि विश्वासघात भएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीले संसदबाट बहुमत ल्याएर देखाउन चुनौती दिएका थिए ।

नयाँ प्रधानमन्त्रीको नियुक्ती र महाथिरको आरोपबीच मलेसियाको राजनीतिक सङ्कट थप बढ्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com