नेपालकाे लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो ।

थाइल्यान्डको बैंककमा भएको खेलमा हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १११ रन बनायो । पहिलाे खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएकाे थियाे ।

लगातार दोस्रो हारसँगै नेपाल एसिया कप छनोटमा यसै चरणबाट नै बाहिरिने सम्भावना बढेको छ । अब नेपाल अघिल्लो चरणमा प्रवेश गर्न दुबै खेल फराकिलो अन्तरले जित्नुको साथै विपक्षीको नतिजा पनि नाटकीय रुपमा आफू अनुकुल आउनुपर्छ ।

नेपालकाे लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान गरे । कुशल मल्लले १९ रन बनाउँदा अविनाश बोहोराले १२ रनको योगदान गरे । त्यस्तै विनोद भण्डारी ५ रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका लागि मोहमद अर्सदले सर्वाधिक चार विकेट लिए । त्यस्तै अफताब हुसेनले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com