राजतन्त्रात्मक मुलुक लक्जम्बर्ग, सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश



प्रकाशित मिति : Mar 01, 2020
  • केजिन राई/इन्दिरा चाम्लिंग

लक्जम्बर्ग, १८ फाल्गुन । युरोपको सुन्दर र धनी देश लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश भएको छ । आज आइतबार (२०२० मार्च १) देखि लागू हुने साे व्यवस्था अनुसार सार्वजनिक यातायातमा सर्वसाधारणले देशैभर निःशुल्क यात्रा गर्न पाउने भएका हुन् ।

लक्जम्बर्गका यातायातमन्त्री फ़्रान्कोईस बऊसले आज लक्जम्बर्गबासीको खुशीको दिन भएको र यो दिन ‘ग्रेट डे ’ रहेहो आफ्नो घोषणा सन्देशमा बताएका छन् ।

लक्जम्बर्गको राष्ट्रिय रेल सेवाका प्रथम श्रेणी र केही रात्रिकालिन बस सेवामा बाहेक अन्य सम्पूर्ण ट्राम, बस र रेल सेवा लगायतमा यो सुविधा प्रदान गरिने भएको हो ।

संसारकै १ सय ६७ औँ ठुलो र नेपालजस्तै भू-परिवेष्ठित मुलुक लक्जम्बर्ग तुलनात्मक रुपमा सानो र निकै थोरै जनसंख्या भएको मुलुक हो । यहाँको जनसंख्या ६ लाख १४ हजार मात्र छ । लक्जम्बर्ग संसारमै शान्त, सम्पन्न र धनी देशको रूपमा चिनिन्छ।

बहुभाषिक मुलुक लक्जम्बर्गमा जर्मन, बेल्जिक र फ्रेन्च अफिसियल भाषा प्रचलनमा रहेको छ । यहाँ काम गर्नका लागि फ्रान्स, बेल्जियम र जर्मनीलगायत देशबाट झन्डै २ लाख कामदार दिनहुँ आवतजावत गर्ने अनुमान गरिन्छ ।

यो व्यवस्था श्रमिक र आफ्ना नागरिकले प्रयोग गर्ने निजी कार र त्यसबाट हुने ट्राफिक समस्याका साथै प्रदुषण घटाउन सार्वजनिक यातायात प्रयोगमा आकर्षण बढाउनका लागि यहाँको सरकारले यो योजना ल्याएको हो । यो नियमसँगै यातायात कम्पनीलाई हुने करिब ४१ मिलियन युरो घाटा सरकारले राजस्वबाट प्राप्त रकमले क्षतिपूर्ति गर्ने जनाइएको छ ।

कस्तो छ लक्जमबर्ग ?

युरोपकै बहुसांस्कृतिक मुलुकको रूपमा परिचित लक्जम्बर्गमा हाल ४८.१ प्रतिशत आप्रवासी रहेका छन् । झन्डै १७० मुलुकका भिन्न राष्ट्रियता भएकाहरु बस्ने र काम गर्ने यहाँ सबैभन्दा बढी १८.२ प्रतिशत अर्थात् १ लाख १० हजारको संख्यामा पोर्चुगाली रहेका छन् । त्यसैगरी झन्डै ३९ हजार फ्रान्सेली , २१ हजार ईटालियन , २१ हजार बेल्जियन, साढे १५ हजार जर्मन, ७ हजार बेलायती र ५ हजारको हाराहारीमा स्पेनिस र नेदरल्याण्डका आप्रवासी रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

यूनेस्कोको विश्व सम्पदा सुचीमा रहेको यो देश २ हजार ५ सय ८६ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएको छ । वर्तमान यूरोपेली संघको प्रादुर्भाव भएको महत्वपूर्ण स्थल सेन्जेन यही मुलुकमा पर्दछ । युरोपको प्रवेशाज्ञा जारी हुने ‘सेन्जेन’ भन्ने ठाउँ फ्रान्स, जर्मनी र लक्जम्बर्गको संगमस्थलको रुपमा रहेको छ, जुन यही मुलुकमा पर्दछ । सेन्जेन सन्धी अनुरूप युरोपको प्रवेशाज्ञा अध्यावधिक प्रचलनमा छँदैछ ।

अमेजन कम्पनीलगायत ठूला कम्पनी र संसारभरका सयभन्दा बढी बैंकहरूको मुख्यालय रहेको यहाँ तेह्र सय मात्र प्रहरी रहेका छन् । हरेक नागरिकले मुलुकको लागि प्रहरीको काम गर्ने कुरा एनआरएन लक्जम्बर्गका निवर्तमान अध्यक्ष नारायण गुरुङ बताउँछन् । उनी भन्छन्, ‘आश्चर्यको कुरा, देशभरमा २ वटा मात्र कैदी राख्ने जेल रहेका छन् । नेपालजस्तो हुल दङ्गा र अपराध हुने भए पो धेरै जेल चाहिन्छ ।’

विगत २२ वर्षदेखि यहाँ बसोबास गरिरहेका निवर्तमान अध्यक्ष गुरुंगका अनुसार ४ सयको हाराहारीमा अहिले नेपालीको बसोबास रहेको छ लक्जम्बर्गमा । यद्यपि यसको यकीन तथ्यांक छैन ।

नेपालका पूर्वराजाको साइनो

संवैधानिक राजतन्त्रात्मक मुलुक लक्जम्बर्गमा नेपालका पूर्वराजा महेन्द्र, वीरेन्द्रका साथै पूर्व युवराज दीपेन्द्र शाह पटक–पटक आउने र घुम्ने गरेको इतिहास पाइन्छ । उनीहरुले घुम्न रुचाउने यहाँका ठाउँमध्येको एक हो, रेम्स अर्थात् दिपेन्द्र हेलीप्याड । जो जर्मनी र लक्जम्बर्गको मोजेल खोलामा पर्दछ ।

पुराना लक्जम्बर्गबासी नेपालीको कथन छ, ‘संसारभरका राजघराना र ठूला खानदानको अकुत सम्पत्ति राख्ने ठाउँ पनि हो यो । लक्जम्बर्गमा आम्दानी स्रोत देखाउनु पर्दैन र जति कालो धन पनि राख्न पाइन्छ । पूर्वराजा वीरेन्द्रको वंश विनाससँगै करोडौँ सम्पत्ति यहाँको बैंकले पचाइदिएको उनीहरुको भनाइ छ ।

अन्तराष्ट्रिय मुद्राकोष २०१९ को प्रतिवेदनमा १ लाख १३ हजार १९६ डलर र विश्व बैंक २०१८ को प्रतिवेदनमा १ लाख १४ हजार ३४१ डलर प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भएको मुलुक लक्जम्बर्ग संसारको सबैभन्दा धेरै प्रतिव्यक्ति आय हुने देशको रूपमा दर्ज छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषको प्रतिवेदन २०१९ अनुसार नेपाल प्रतिव्यक्ति वार्षिक आय १ हजार ४७ डलरसहित १५९ औँ स्थानमा छ भने लक्जम्बर्ग संसारकै पहिलो नम्बरमा रहेको छ । यसर्थ धनी मुलुक भएकै कारण सम्पूर्ण सार्वजनिक यातायातमा आफ्ना जनतालाई निःशुल्क सेवा दिन लक्जम्बर्ग सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com