‘भ्रष्टाचारमुक्त नेपाल, विकृतिमुक्त नेपाली कांग्रेस’को अभियान सुरु गर्नुपर्ने नेता पौडेलको भनाइ



प्रकाशित मिति : Feb 29, 2020

वीरगञ्ज, १७ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भ्रष्टाचारले व्याप्त भएको काण्डै काण्डमा सरकार फसेको अवस्थामा पनि प्रमुख विपक्षी दलले विरोध गर्न किन सकेन ? भन्ने प्रश्नको जवाफ आम कांग्रेस नेता/कार्यकर्ताले खोज्ने बेला आएको बताउनुभएको छ ।

वीरगञ्जमा आयोजित प्रदेश नम्बर दुई स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले अब भ्रष्टाचारमुक्त नेपाल, विकृतिमुक्त नेपाली कांग्रेसको अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।

उहाँले कांग्रेसका कार्यकर्ताले कांग्रेसको इतिहास, कांग्रेसले थालेको आन्दोलनको मर्म र वीपी कोइराला, गणेशमान सिंहको विरासत जोगाउनका लागि लाग्नुपर्ने बताउनुभयो ।

यस्तै नेता पौडेलले कांग्रेसमा ओरल्ली, मोरल्ली, र पोलिटिकल्ली कम्युनिष्टहरुसँग प्रतिकार गर्नसक्ने नेतृत्व कांग्रेसमा भएको बताउदै पद र प्रलोभनबाट मुक्त भएर त्याग गर्नसक्ने नेतृत्वको खोजीमा कांग्रेस लाग्नुपर्ने पनि बताउनुभयो ।

देशभरका अन्यायमा परेका कांग्रेसहरुलाई न्याय दिनका लागि आफूहरु तयार रहेको बताउदै उहाँले क्रियाशील सदस्यता वितरणमा हुने धाँधली रोक्नका लागि वडा तहबाट नै लाग्न नेता÷कार्यकर्तालाई निर्देशन दिनुभयो ।

यसैबीच कार्यक्रममा महामन्त्री डा.शशांक कोइरालाले सरकारले कर बढाएर जनतालाई सपना बाँड्ने बाहेक अन्य काम गर्न नसकेको बताउनुभयो । उहाँले कांग्रेस एकताबद्ध हुन नसक्दा नेपालमा कम्युनिष्टहरुको बिगबिगी भएको बताउनुभयो ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले पटक–पटकका आन्दोलनको नेतृत्व गर्न सक्ने संविधान बनाउन सक्ने कांग्रेसलाई किन नेपाली जनताले भोट दिएनन् भन्ने खोजी हुन आवश्यक रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com