क्वारेन्टाइनमा १४ दिन, कोरोना भाइरस परीक्षणका लागि पुनः नमूना संकलन



प्रकाशित मिति : Feb 29, 2020

भक्तपुर, १७ फागुन । भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

क्वारेन्टाइनमा राखिएको १४औं दिनमा पुनः कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको हो । नमूना संकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली क्वारेन्टाइन स्थलमा पुगेको थियो ।

परीक्षणको नतिजा आउन ढिलोमा तीन दिन लाग्ने मन्त्रालयले जनाएको छ । रिपोर्ट आएपछि मात्र उनीहरु घर फर्कन पाउने छन् । संकलन गरिएको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले क्वारेन्टाइनमा राखिएको १४औं दिनपछि घर फर्कन पाउने बताएको थियो । चीनबाट फर्काइएका १ सय ७५ जना सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ ।

यसअघि गरिएको कोरोना परीक्षणमा सबै जनामा संक्रमण नरहेको पुष्टि भएको थियो । उनीहरु सबैको फागुन ४ गते नमूना संकलन गरिएको थियो भने फागुन ७ गते रिपोर्ट सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com