मलाई आठ लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही हुनुपर्छ, नभए राष्ट्रपति भवन अगाडि धर्ना बस्छु : हेमा श्रेष्ठ



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौं, १६ फागुन । हेमा श्रेष्ठले आफूलाई आठ/आठ लाठी प्रहार गर्ने महानगरीय प्रहरी प्रभाग बुङमतिका प्रमुख प्रहरी निरीक्षक देवी प्रसाद पौडेललाई कारबाही गर्न माग गरेकी छन् ।

न्यूज २४ नेपाल डट टिभीसँग फोनबार्ता गर्दै हेमा श्रेष्ठले भनिन्, ‘ज्यान नै माया मारेर आफ्नो छोरा छोरीको लागि लडिरहेकी महिला हुँ । मलाई आठ/आठ लाठी प्रहार गर्ने प्रहरी निरीक्षक देवी प्रसाद पौडेललाई कुनै पनि हालतमा छोड्ने छैन । उनलाई कारबाही होस् । सत्यतथ्य छानबिन हुनुपर्छ ।’

उनले थपिन्, ‘मलाई किन लाठी प्रहार गरेको हो, उसैलाई (प्रहरी निरीक्षक देवी प्रसाद पौडेल) थाहा होला । त्यहाँ मेरो के नै गल्ती थियो र ? महिलाले केहि पनि गर्न सक्दैन, जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेको इन्स्पेक्टरले मलाई आठ लाठी पछाडिबाट हानेको छ । मलाई गाडी पछाडि पाँच लाठी हानेको छ । मिडियाको अगाडि नै तीन लाठी हानेको छ ।’

उनले फेरि भनिन्, ‘मिडियाकै अगाडि मलाई लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । मलाई न्याय दिनुपर्छ । यदि कारबाही गरिएन भने म राष्ट्रपति भवन अगाडि गएर धर्ना बस्नेछु । किन भने राष्ट्रपति पनि महिला नै हुनुहुन्छ ।’

यो घटनामा आफू दोषी ठहर भएमा जस्तोसुकै कारबाही भोग्न पनि तयार रेहेकी उनले बताइन् । अहिले आफू बोल्न सक्ने भएपनि अवस्था भने गम्भीर भएको बताएकी छन् ।

उनले भनिन्, ‘दुवै खुट्टाको पछाडिको भागमा निल डाम छ । देब्रे खुट्टालाई चलाउनै हुँदैन । प्रहरी चौकीमा पुगेपछि मलाई किन कुट्नुभयो । मलाई उपचार गर्नुहोस् भन्दा प्रहरीले मलाई केही प्रतिक्रिया दिन मानेनन् । घर जानुस् भनेर पठाए ।’

उनले ग्रीन सिटी अस्पताल बसुन्धारामा उपचार गराएकी बताउँदै भनिन्, ‘मेरो दुई/दुई वटा बच्चा छन् । अस्पतालमा बच्चालाई समातेर बस्न सकिन । त्यसैले एक रात अस्पतालमा बसेर आज विहान मात्रै कोठा आएर आराम गरिरहेको छु । अहिलेपनि घाउको ड्रेसिङ गरिरहेकी छु ।’

यसैबीच उनले आफू श्रीमान पीडित भएको बताउँदै भनिन्, ‘म श्रीमान पीडित महिला हुँ । मेरो श्रीमान कपनको डन हो । आफ्नो छोरा÷छोरी लागि उनको खोजी गरिरहेकी छु ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com