नेकपा विवाद : गौतमलाई राष्ट्रियसभामा र खतिवडालाई मन्त्रीमा निरन्तरता मध्यमार्गी उपाय



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौं, १६ फागुन । बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने पार्टीको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण नेकपामा बढेको विवाद तत्कालका लागि ‘मत्थर’ हुने भएको छ ।

सचिवालय बैठकको निर्णय अवज्ञा गर्दा थप संकट झेल्नुपर्ने देखिएपछि प्रधानमन्त्री ओली ‘मध्यमार्ग’ प्रयोग गर्ने निश्कर्षमा पुगेका छन् । तर, यो मध्यमार्ग नेकपाभित्र चलिरहेको शक्ति संघर्षको अस्थायी समाधान मात्रै हो ।

सचिवालयको निर्णय कार्यान्वयन गर्ने कि अर्थमन्त्री रहेका डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने दबाबमा परेका ओली अन्ततः ‘मध्यमार्गी’ उपाय अपनाउन तयार भएको बताइन्छ ।

जसअनुसार मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने छ भने डा. खतिवडा कम्तीमा थप ६ महिना अर्थमन्त्री नै रहनेछन् ।

शुक्रबार चितवन पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन गर्ने विश्वाससहित खतिवडालाई अर्थमन्त्री कायम राख्ने ओलीको चाहना पनि सम्बोधन गर्न सकिने संकेत गरे ।

मन्त्रिपरिषद्को आगामी बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएको भोलिपल्टै फागुन २१ गते खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्ति गर्ने विकल्पमा ओली सहमत भएको बताइन्छ ।

संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक प्रावधान अनुसार पुनः अर्थमन्त्री बन्ने खतिवडाले आगामी आर्थिक वर्षको बजेट ल्याउने छन् ।

६ महिने अवधि सकिने बेलामा राष्ट्रियसभाका कुनै एक सदस्यलाई राजीनामा गराएर खतिवडालाई पुनः सांसद बनाई अर्थमन्त्रीमै निरन्तरतासमेत दिन सकिने छ । तर, खतिवडालाई बजेट ल्याउन दिएर बिदा गर्नुपर्ने मत नेकपामा बलियो छ ।

राष्ट्रियसभा सदस्य भएपछि गौतमलाई सरकारमा प्रवेश गराउने कसरत हुने नै छ । त्यसबेला पनि ओलीले चर्को दबाब खेप्नु पर्ने छ । गौतम उपप्रधानमन्त्री भएर सरकारमा भित्रने निश्चित भयो भने हाल दोस्रो बरियतामा रहेका रक्षामन्त्री इश्वर पोखरेल सरकारबाट बाहिरिने परिस्थिति समेत बन्न सक्छ ।

त्यसो हुँदा ओलीले मन्त्रिपरिषद्बाट अर्का विश्वासपात्र गुमाउनु पर्ने छ । त्यसैले गौतम र खतिवडा दुवैलाई अघि सार्ने अहिलेको मध्यमार्गी उपाय नेकपाभित्र चलिरहेको शक्ति संघर्षको अस्थायी समाधान मात्रै हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com