इरानका उपराष्ट्रपति एब्टेकरलाई पनि कोरोना भाइरसको संक्रमण



प्रकाशित मिति : Feb 28, 2020

एजेन्सी, फागुन १६ । इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरलाई पनि कोरोना भाइरसको संक्रमण भएकाे छ । इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उनी उच्च अधिकारी हुन् । यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो ।

उपराष्ट्रपति एब्टेकर वरीयतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुन् । इरानमा राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको छ ।

बैठकमा उपराष्ट्रपति एब्टेकर राष्ट्रपतिको छेउमै बसेकी थिइन् । उपराष्ट्रपति एब्टेकरलाई घरमै क्वारेन्टाइनमा राखिएको उनका सहयोगीले बताएका छन् । उनी इरानमा कोरोना संक्रमण हुने सातौँ उच्च अधिकारी हुन् । जसमा एक जनाको मृत्यु भइसकेको छ ।

इरानमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ भने २ सय ४५ भन्दा बढी संक्रमित देखिएका छन् । तर, स्वास्थ्य विज्ञहरुले भने इरानमा तीव्र रुपमा कोरोनाको संक्रमण फैलिरहेको र संख्या एक हजारभन्दा माथि पुगेको बताएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका ४७ देशमा पुगिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com