काठमाडौं उपत्यकाबाट मास्क हरायो, फार्मेसी पसलले टाँसे सूचना ‘नो मास्क सरी’



प्रकाशित मिति : Feb 28, 2020
  • रिया भण्डारी,

काठमाडौं, १६ फागुन । काठमाडौंलाई धुँवा धुलोबाट मुक्त राखेर मास्क नै लाउनु नपर्ने गरी शहर सफा राख्ने राजनीतिक प्रतिबद्धता धेरै आए ।

काठमाडौंका सडकलाई स्वच्छ राख्ने ब्रुमर कुदाउँन थालेको पनि धेरै भयो तर, धुलो उडन छोडेको छैन, धुँवाको सकसले अझै रुवाउन छोडेको छैन् ।

तर, काठमाडौं उपत्यकाबाट भने मास्क हराएको छ । केही समय अघिसम्म सामान्य मूल्यमा पाइने मास्कले पनि नेपाली उपभोक्तालाई एक समय रुवाएको महंगो प्याजले झै रुवायो मूल्यले उकालो चढ्दा । तर, बजारमा अहिले त्यही मंहगोमा किन्न खोज्दा पनि मास्क पाइदैन ।

प्राणघातक कोरोना भाइरस कोविड १९ ले उत्तरको छिमेकी चीनलाई आफ्नो प्रभावमा लपेट्दा यस्को संक्रमण विश्वका धेरै राष्ट्रमा फैलिन थालिसकेको छ ।

छिमेकी भएको नाताले मात्र नभइ नेपालमा चिनियाँ पर्यटकको निरन्तर आगमन र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कारोना परीक्षणको फितलो व्यवस्थापनका कारण पनि नेपाल सचेत बन्नु पर्ने अवस्थामा काठमाडौं उपत्यकाका बजारबाट मास्क हराएको छ ।

कोरोना संक्रमण विश्वब्यापी बढ्दै गएपछि नेपाली बजारमा भने सर्जिकल मास्क पाइनै छोडेको छ । शुक्रबार न्यूज २४ को टोली काठमाडौं उपत्यकाका अधिकांस फार्मेसी र सर्जिकल होलसेलहरु सम्म पुग्दा पनि मास्क भेटिएन ।

मास्क खोज्दै दिनकै हजारौ सर्बसाधारण आउन थालेपछि कतिपय फार्मेसीले ‘नो मास्क सरी’ लेखेरै टाँसेको भेटियो । सरकारी अस्पतालको फार्मेसीमा समेत मास्क भेटिएन ।

कुनैपनि भाइरस संक्रमणबाट बच्न, धुवाधुलो छेक्न नेपालमा मास्कको प्रयोग बाह«ै महिना हुन्छ । कोरोना भाइरसबाट बच्ने बिभिन उपाय मध्ये एउटा उपाय मास्क प्रयोग गर्नु भन्ने छ तर यत्तिबेला नेपाली बजारमा भाइरस प्रतिरोधी मात्र नभइ सामान्य मास्क पनि पाइदैन ।

सर्जिकल हाउसहरु र होलसेल पसलमा पुग्दा यत्तिबेला कुनै पनि देशले आफ्नो देशबाट बाहिर मास्क एक्सपोर्ट नगरेको र नेपाल मास्क उत्पादन हुने कम्पनी खासै नरहेकोले अभाब रहेको फार्मेसी सञ्चालकहरु बताउछन् ।

नेपालमा सर्जिकल मास्क उत्पादन हुने दुइवटा कम्पनी मात्र रहेको ति कम्पनीले पनि नेपालीबजारमा मास्क नपठाएको ब्यापारीहरुको भनाइ छ ।

मास्क खोज्न दिनको ५ सयको हाराहारीमा सर्बसाधारण आउन थालेपछि कतिपय फार्मेसीले ’नो मास्क सरी ’लेखेर टाँसेका छन् ।
यहाँसम्मकी वीर अस्पतालको फार्मेसीमा पनि मास्क पाएका छैनन् उपभोक्ताले ।

कोरोना भाइरसको फैलिँदो त्रासका बीच त्यसको संक्रमणबाट बच्न बजारमा मास्कको माग पहिलेको तुलनामा बढेको छ । कतिपय फार्मेसीले पहिलेको भन्दा ४ गुणा मूल्य भनेपछि मास्क राख्न छोडेको बताए ।

केही समय अगाडि नेपालमा रहेका चिनियाँहरुले नेपाली बजारको मास्क खरिद गरेर चीन पठाएका थिए । संक्रमण नै नफैलिएको देशले पनि संक्रमण फैलिए आवश्यक पर्ने भन्दै मास्क स्टोर गरेर राखेका छन् ।

अमेरिकाले मास्क उत्पादकलाई सरकारलाई मात्र मास्क बेच्न भनेको छ । नेपालमा अस्पतालहरुमा स्वास्थ्यकर्मी कै लागि पनि मास्क अभाब छ । मास्कको चरम अभाब हुदाँ पनि सरकार बेखबर जस्तै बन्नु निश्चय नै दुर्घटना निम्त्याउनु झै बनेको छ ।

सरकार संवदेनशील बनेर मास्कको यो अभाव हटाउन आवश्यक छ । किनभने कारोना भाइरसको संक्रमण उत्तरतर्फ रहेका हिमालले मात्र रोक्ने सम्भावना छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com