मुख्यमन्त्री निवास अघि नारा : ‘ढुंगागिट्टी जस्तै पानी पनि बेचेर जनतालाई बाढीबाट जोगाइदेऊ’



प्रकाशित मिति : Feb 28, 2020
  • तारा आचार्य,

विराटनगर, १६ फागुन । पटक–पटक जानकारी गराउदाँ समेत जनप्रतिनिधि र प्रदेश सरकारले चासो नदेखाएको भन्दै मोरङको केराबारी गाउँपालिका वडा नं.९ तुर्के खोलाको पुल निर्माणको माग गर्दै स्थानीयहरुले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना दिएका छन् ।

तुर्के खोलामा २०६९ सालमा पुल निर्माणका लागि ठेक्का लागेको भएपनि ठेकेदारले पुल बनाउन कुनै पहल नगरेको र फरार भएकाले ठेकेदारलाई खोजिदिन माग गर्दै स्थानीयवासीले प्रदेश सरकारसंग गुहार मागेका हुन् ।

केराबारी वडा नं.९ र लेटाङ वडा नं.१ का करिब १ हजार घरधुरीले तुर्के खोलामा पुल नभएकै कारण वर्षातको समयमा आवतजावतमा कठिनाई हुने गरेको छ । केराबारी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष भुपतिन्द्रप्रताप मल्लले निलगिरी कन्ट्रक्सनलाई ठेक्का लगाए पनि विचविचमा काम गर्दै छाड्दै गर्ने गरेकाले समस्या उत्तपन्न भएका जानकारी गराउनु भयो ।

स्थानीयहरुले ‘मुख्यमन्त्री ज्यू ! ढुगां बालुवा बेचियो, संसद सरकार फेरियो, पुल कहिले बन्छ ? आठबर्षे पिल्लरको बीचमा हावाले बनिएको पुल देख्न समृद्धिको चश्मा देउ । ढुगां बालुवा मात्र होइन पानी पनि बेचिदेउ खहरेलाई छेकीदेउ’ जस्ता नारा लेखिएका प्लेकार्ड टाउकोमा लगाएर विरोध गरेका थिए ।

केराबारीको लाख, भलुवा, घंघरु, बिराजे, खयरघारी, भालुगौडे र बेलचौरीका स्थानीयहरुले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिनुका साथै नाराबाजी गरेका थिए ।

उनीहरुले ढुंगागिट्टी जस्तै पानी पनि बेचेर जनतालाई बाढीबाट जोगाउन माग गरेका थिए । धर्ना कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरेले जनताको माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिनुभएको थियो ।

पुल निर्माण थालिएको ८ वर्ष भइसक्दा समेत सम्बन्धित निकायले कुनै चासो नदिएकाले धर्ना दिन बाध्य भएको स्थानीयको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com