‘१५ दिने मिथिला माध्यमिकी परिक्रमा’ महोत्तरीको जलेश्वर पुग्यो



प्रकाशित मिति : Feb 28, 2020
  • घनश्याम मिश्र,

धनुषा, १६ फागुन । मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको सदरमुकाम जलेश्वर पुगेको छ ।

गत आइतबारदेखि धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकीसहित सुरु भएको यस परिक्रमा विहीबार जलेश्वर पुगेको हो ।

यस परिक्रमामा झन्डै एक लाख श्रद्धालू सहभागी छन् । यस परिक्रमामा झाँकी र भजन–कीर्तनको यात्रा पनि जारी राखिएको छ ।

मुलुकमा तीन तहको सरकार हुँदा समेत सरोकारवाला निकायले यस ऐतिहासिक परिक्रमालाई व्यवस्थित गर्न नसकेको साधु समाजको भनाइ छ ।

फागुनको औंसीदेखि पूर्णिमासम्म चल्ने यस माध्यमिकी परिक्रमा धनुषा, महोत्तरी र भारतको विहार प्रान्तको सीमावर्ती क्षेत्रका विभिन्न धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलसम्म पुग्नेछ ।

परापूर्वकालदेखिनै मिथिला क्षेत्रमा बृहत्त, मध्य र अन्तरगृह गरि ३ प्रकारको परिक्रमा गर्ने चलन छ । वर्तमान समयमा भने मध्य परिक्रमामा रुची राख्नेहरुको संख्या उल्लेख्य छ ।

डोलाको पछि–पछि परम्परागत बाजा–गाजा र झाँकीसहितका मौलिक पहिरनमा लाखाँै नर–नारीहरुले सहभागिता जनाउने गर्दछन् ।

यो वर्षको परिक्रमामा विशेष गरि चार किसिमका ससस्याहरु देखा परेका महन्थ लक्ष्मण दासको भनाइ छ । उनले भने, ‘बिजुली बत्ती, खानेपानी, शौचालय र बासको व्यवस्था स्थानीय सरकारले व्यवस्थित गर्न सकेन ।’

नेपाल–भारतको ऐतिहासिक धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतिक बनेको यस माध्यमिकी परिक्रमा यात्राको लागि धनुषा र महोत्तरीमा १३ वटा विश्रामस्थल छ । त्यस्तै, भारतमा २ वटा विश्रामस्थल रहेको बताइएको छ ।

यस यात्रामा सहभागी हुने भक्तजनहरुले एक सय ३३ किलोमिटरको पैदलयात्रा गर्ने परम्परा रहेको छ ।

यस १५ दिने परिक्रमा जनकपुरधामको हनुमानगढी, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागून पूर्णीमाको दिन जनकपुरधाम फर्किन्छ ।

त्यसपछि जनकपुरधाम नगरको पाँचकोशे अन्तःर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com