मच्छिन्द्रका कप्तान विराज सडेन डेथमा चुक्दा पुलिस बुढासुब्बा गोल्डकपको फाइनलमा



प्रकाशित मिति : Feb 27, 2020
  • सन्तोष काफ्ले

धरान, १५ फागुन । कप्तान विराज महर्जन सडेन डेथमा चुक्दा शहीदस्मारक लिग विजेता मच्छिन्द्र क्ल्ब काठमाडौं २२ औं बुढासुब्ब्बा टुबोर्ग गोल्डकपको सेमी फाइनलबाटै बाहिरिएको छ ।

सडेन डेथमा मच्छिन्द्रलाई पाखा लगाउँदै पाँँच पटको विजेता नेपाल पुलिस क्लब काठमाडौं २२ औं बुढासुब्ब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । योसंगै पुलिस ११ औं पटक बुढासुब्बाको फाइनल पुग्ने एक मात्र टिम बनेको छ । धरान रंगशालमा बिहीबार भएको अन्तिम सेमिफाइनलमा मच्छिन्द्र क्लबलाई पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो ।

पुलिसले अव उपाधिको लागि शनिबार मनाङ मस्र्याङ्दी क्लबको सामाना गर्नेछ । खेलका म्यान अफ दि म्याच पुलिसका गोल रक्षक सजित क्षेष्ठले मच्छिन्द्रका कप्तान विराज महर्जनको सडेन डेथमा गरेको गोल प्रहार विफल तुल्याएसंगै पुलिस उपाधि नजिक पुगेको हो ।

सडेन डेथमा पुलिसका कपिल ढकाले गोल गरेका थिए । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पुलिसका भोला सिलवाल, पदम भारती, तिर्थ राना मगर, र जुमानु राईले गोल गरे भने सुमन सुवेदीको प्रहार मच्छिन्द्रका गोल किपर विशाल श्रेष्ठले रोकिदिएका थिए ।

त्यस्तै मच्छिन्द्रका रञ्जित धिमाल, बिमल घर्तिमगर, विजय धिमाल, देवेन्द्र तामाङले गोल गरे, भने विशाल राई ‘बी’ को प्रहार पुलिसका गोल रक्षक सन्जित श्रेष्ठले विफल बनाइदिए । टाइब्रेकरमा ४–४ गोल बराबरी भएपछि सडेन डेथमा पुगेको थियो । रक्षात्मक खेल्दै मच्छिन्द्रलाई रोक्ने रणनीतिमा मैदानमा उत्रिएको पुलिस खेलमा सफल भयो ।

बुढासुब्बा गोल्डकपमा पुलिस सर्वाधिक ११ पटक फाइनलमा पुग्ने टोली भएको छ भने छैठौं पटक उपाधि जित्ने लक्ष्य नजिक पुगेको छ । बुढासुब्बा गोल्डकपमा पुलिस र थ्रिस्टार क्लबले समान ५-५ पटक उपाधि जितेका छन् । बिहीबार भएको खेलको पहिलो मिनेटमा नै पुलिसले गोल गर्ने राम्रो अवसर खेर फाल्यो ।

पुलिसका तिर्थ रानामगरको पासमा मनिष थापाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल आकाशियो । चौथो मिनेटमा ऋषी पिठाकोटेले मिलाइदिएको क्रसपासलाई मनिष थापाको बाइसाइकल किकले पोष्टको दिशा लिन सकेन । मच्छिन्द्रले पुलिसलाई पूरै दबाबमा राखे पनि स्कोर गर्न नसक्दा पराजित भयो ।

खेलको पाँचौ मिनेटमा मच्छिन्द्रका बुद्ध चेम्जोङको प्रहार पोष्टको नजिकैबाट बाहिरियो । खेलको १७ औं मिनेटमा बिमल राना मगरको सशक्त प्रहार बारमाथिबाट बाहिरिए लगतै विशाल राईले किपरबाट फुत्किएको बललाई पोष्टको दिशा दिन सकेनन् । पहिलो हाफको तुलनामा दोस्रो हाफमा मच्छिन्द्रले पुलिसलाई दबाबमा राख्यो । तर पुलिसको बलियो रक्षापंतीलाई चिर्न सकेन ।

मच्छिन्द्रका विदेशी खेलाडी अडेलाजा सोमिडेको स्थानमा मैदान प्रवेश गरेका योगेश गुरुङ गोल गर्न चुके । उनले पेनाल्टी एरियाबाट प्रहार गरेको बल आकाशियो । ५९ औं मिनेटमा रञ्जित धिमालको फ्रिकिक बललाई पुलिसका किपर सञ्जित श्रेष्ठले मुस्किलले पञ्च गरे ।

खेलको ८९ औं मिनेटमा रेजिन सुब्बाले विशाल राईको पासमा किपरलाई बिट गरी प्रहार गरेको ग्रासबल पोल नजिकबाट बाहिरीयो । पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागीता जनाएको मच्छिन्द्र क्लब सेमिफाइनलबाट बाहिरिएको छ । मच्छिन्द्रले ए डिभिजन लिग र भर्खरै सम्पन्न सतासी गोल्डकपको उपाधि जितिसकेको छ ।

खेल पूरै आफ्नो पक्षमा भएको भए पनि स्कोर निकाल्न नसक्दा पराजित हुनुपरेको मच्छिन्द्रका कोच प्रवेश कटुवालले प्रतिक्रिया दिए । आफ्नो भरपर्दाे विदेशी खेलाडी अडेलाजा सोमिडे घाइते भएर १० मिनेट सम्म पनि खेल्न नसकेको बताउँदै कटुवालले लिगपछि लगातार खेल्नु पर्दा रेस्ट समेत गर्न नपाएपछि सोचे अनुरुपको नजिता आउन नसकेको बताए ।

खेलको म्यान अफ द म्याच पुलिसका गोल रक्षक सन्जित श्रेष्ठले नगद १५ हजार पाए भने, खेलमा मच्छिन्द्रका रञ्जित धिमालले गरेको गोल उत्कृष्ट घोषित हुँदा उनले नगद ५ हजार पाए । फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा २ विदेशी सहित ८ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com